आरनमै नारसिंहका ५ दशक : जुग फेरियो, जीवन फेरिएन

मुगु । समय बदलियो, गाउँका रूपरेखा फेरिए, नयाँ पुस्ता आधुनिकतामा रमायो। तर मुगुको एक कुनामा बस्ने ६३ वर्षीय नारसिंह कामीको जीवन भने अझै पनि आरन (फलाम पिट्ने भट्टी) वरिपरि नै घुमिरहेको छ।
पाँच दशकभन्दा बढी समयदेखि आरनमै पसिना बगाउँदै आएका नारसिंहले बुवाबाजेको पेशालाई निरन्तरता दिइरहनुभइरहेको छ। “हामीले अरू काम जानेनौं, यही आरन हाम्रो जीवन हो,” उहाँ भन्नुहुन्छ। उहाँका लागि फलाम पिट्नु केवल पेशा मात्र होइन, पुस्तौंदेखिको पहिचान र बाध्यता पनि हो।
१३ जनाको परिवारको जिम्मेवारी बोकेका उहाँ दिनभर आरनमै व्यस्त हुनुहुन्छ। कोदालो, बञ्चरो, खुर्पा जस्ता कृषि औजार बनाएर उहाँले जीविकोपार्जन गर्नुहुन्छ। तर बढ्दो महँगीका कारण उहाँले मेहनतअनुसारको आम्दानी लिन सक्नुभइरहेको छैन ।

“सामानको भाउ बढेको छ, तर हाम्रो ज्याला उस्तै छ,” उहाँ गुनासो गर्नुहुन्छ। परिवार धान्नै कठिन भइरहेको उहाँको भनाइ छ। अन्नका लागि अझै पनि मानो–मुठोमै भर पर्नुपर्ने अवस्था छ।
नारसिंहका छोराहरूले सकेसम्म सहयोग गर्दैआइरहेका छन्। तर त्यो मात्र १३ जनाको परिवारका लागि पर्याप्त छैन। नाति–नातिनाको पढाइ, औषधि उपचार र लत्ताकपडाको खर्चले थप चिन्ता बढाएको छ। “कापी–कलम किन्नै मुस्किल छ, पढाउन मन छ तर अवस्था छैन,” उहाँ भन्नुहुन्छ
आधुनिक उपकरण र बजारको प्रतिस्पर्धाले पनि उहाँको पेशामा असर पारेको छ। गाउँमा परम्परागत रूपमा बनाइने औजारको माग घट्दै गएको छ भने बजारबाट सस्तो सामग्री आउने क्रम बढेको छ।
“पहिला गाउँमै सबैले हाम्रो काम खोज्थे, अहिले बजारबाट किन्छन्,” उहाँ भन्नुुहन्छ।
उमेर बढ्दै जाँदा शरीरले साथ छोड्दै गएको छ। तर विकल्प नहुँदा उहाँ अझै पनि हथौडा समात्न बाध्य हुनुहुन्छ। “काम नगरे के खाने ? ” भन्ने प्रश्न उहाँको दैनिकीसँगै जोडिएको छ।
राज्यले साना तथा परम्परागत पेशा संरक्षणको नीति ल्याए पनि दुर्गम क्षेत्रमा बस्ने यस्ता श्रमिकसम्म त्यसको प्रभाव पुगेको देखिँदैन। कामी समुदायका धेरै मानिस अझै पनि न्यून आय र अभावमा संघर्षरत छन्।
पाँच दशक बित्दा पनि नारसिंहको जीवनमा खासै परिवर्तन आएको छैन। जुग फेरिएको छ, तर उहाँको दैनिकी फेरिएको छैन । आरनको आगो, हथौडाको आवाज र अभावसँगको निरन्तर संघर्ष आज पनि उस्तै छ ।








प्रतिक्रिया राख्नुहोस्