ट्रकमा स्कार्पियो ठोक्किँदा २ को मृत्यु, ३ घाइते
कपिलवस्तु । कपिलवस्तुको पिपराहवामा रोकिराखिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
शनिबार राति करिब ९ बजे कपिलवस्तु नगरपालिका–१२ पिपराहवामा बहादुरगञ्जबाट तौलिहवातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट (युपी ३२ सिए ८३४३) को स्कार्पियो सडक किनारमा रोकी राखिएको लु १ ख ९५४९ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका महाराजगञ्ज नगरपालिका–११ बनगाईका ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ धर्मनगरका ५५ वर्षीय चिन्नी कुर्मीको उपचारका क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो ।
दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। घाइतेमध्ये महाराजगञ्ज–११ का ६५ वर्षीय नन्दप्रसाद दुबे उपचारपछि थप उपचारका लागि भैरहवास्थित सिटी अस्पताल पठाइएको छ। शिवराज–१० का २८ वर्षीय मोतिलाल कुर्मी र शिवराज–११ का २० वर्षीय सुरेश कुर्मी भने उपचारपछि डिस्चार्ज हुनुभएको छ।
प्रहरीले ट्रक र दुवै सवारीका चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्