कोरियाबाट फर्किएर मेवा खेतीमा भविष्य खोज्दै केवट
सुस्ता। वैदेशिक रोजगारीको अनुभव बोकेर स्वदेश फर्किएका सुस्ता गाउँपालिका–३ रेवाका अर्जुन प्रसाद केवट (सहानी) अहिले गाउँमै बसेर व्यावसायिक मेवा खेतीमा भविष्य देखिरहेका छन्। करिब पाँच–छ वर्षअघि दक्षिण कोरियाबाट फर्किएका उनले रोजगारीको खोजीमा भौँतारिनुभन्दा आफ्नै माटोमा सम्भावना देखे—र सुरु गरे मेवा खेती ।

कोरियामा रहँदा म्यानुफ्याक्चरिङ क्षेत्रमा काम गरेका अर्जुनलाई त्यहाँको व्यवस्थित कृषि प्रणालीले गहिरो प्रभाव पारेको थियो। “त्यहाँको खेती देखेपछि नेपाल फर्केर केही गर्नुपर्छ भन्ने सोच आयो,” उनी भन्छन्। त्यही सोचलाई व्यवहारमा उतार्दै उनले सुरुमा काठमाडौँबाट बीउ ल्याएर आफ्नै प्रयासमा बिरुवा उत्पादन गरे र १० कट्ठा जमिनमा झण्डै एक हजार बोट मेवा रोपे।
अर्जुनको मेवा बारी अहिले हराभरा मात्र छैन, फलले झुकेको छ। उनले लगाएको करिब तीन महिनामै फल लाग्न सुरु हुने गरेको बताउँछन्। राम्रो हेरचाह र व्यवस्थापन गर्न सके एउटा बोटबाट झण्डै एक क्विन्टलसम्म उत्पादन गर्ने उनको लक्ष्य छ। यही आधारमा उनी एक सिजनमै ७ देखि ८ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्यमा छन्। ‘यहाँ त बीउ पनि पाइँदैन, सुरुमा काठमाडौँबाट ल्याएँ, पछि भारतबाट ल्याए, बेसरी महँगो पर्ने रहेछ’ उनले भने ।

मेवा खेतीमा हात हाल्नु अघि उनले करेला खेती गरेका थिए। तर, बजारमा उचित मूल्य नपाएपछि उनी निराश बने। “करेला राम्रो फल्थ्यो, तर मूल्य पाएन। त्यसपछि विकल्प खोज्दा मेवा खेतीतिर लागेँ,” उनले सुनाए। अहिले भने बजारमा मेवाको माग राम्रो रहेको छ ।
उनको भनाइमा जिल्लामै यसरी व्यावसायिक रूपमा मेवा खेती गर्ने प्रयास पहिलो पटक हो। यद्यपि, चुनौती पनि कम छैनन्। “मेवाका लागि यहाँको माटो त्यति उपयुक्त छैन, मल, बीउबिजन र प्राविधिक जनशक्तिको पनि अभाव छ,” उनी गुनासो गर्छन्। स्थानीय तह र कृषि ज्ञान केन्द्रबाट हालसम्म कुनै ठोस सहयोग नपाएको उनको दुःखेसो छ । ‘म कृषि ज्ञान केन्द्रमा बुझ्न गएको थिएँ । जिल्लामा पहिलो पटक भएर होला उहाँहरूलाई मेवाको केही थाहा रहेनछ । बरु मलाई नै सोध्नु भो’ अर्जुनले भने । उनले अहिले लगाएको ‘रेडलेडी’ प्रजातिको ताइवान मेवा भएको बताए ।
परिवारको साथ भने उनलाई बलियो आधार बनेको छ। श्रीमती, दुई छोरा र एक छोरीसहितको परिवार नै अहिले खेतीमा जुटेको छ। “परिवारसँगै काम गर्दा खर्च पनि घट्छ र आत्मविश्वास पनि बढ्छ,” अर्जुन भन्छन्। उनको मेहनत र लगन अहिले आसपासका किसानका लागि प्रेरणा बन्दै गएको छ। वैदेशिक रोजगारीबाट फर्किएपछि ‘अब के गर्ने’’ भन्ने अन्योलमा रहेका युवाहरूका लागि अर्जुनको उदाहरण आशाको किरण जस्तै बनेको छ। “जागिर मात्रै खोज्ने होइन, कृषिमा पनि राम्रो सम्भावना छ,” उनी युवालाई सन्देश दिन्छन्।
राज्यका निकायले कृषि क्षेत्रमा लाग्ने किसानलाई प्राविधिक सहयोग, गुणस्तरीय मल र बीउबिजन उपलब्ध गराओस्। “थोरै साथ पाए अझै धेरै गर्न सकिन्छ” उनी भन्छन्।अहिले बोटमा लागेको फल देखेर अर्जुन दङ्ग परेका छन् । राम्रो मुनाफा सहित मेवा बेच्ने उनको भनाई छ ।
गाउँकै माटोमा पसिना बगाउँदै भविष्य निर्माण गर्ने अर्जुन प्रसाद केवटको यो यात्रा केवल व्यक्तिगत अठोट मात्र होइन, बदलिँदो सोच र सम्भावनाको कथा पनि हो । जहाँ विदेशको अनुभव गाउँको उर्वर माटोसँग मिसिँदा नयाँ सम्भावनाको अङ्कुर पलाएको छ । आफू जस्ता अन्य युवालाई पनि गाउँमै गर्न सके खट्न सके ढिलोचाँडो प्रतिफल प्राप्त हुने उनी सुझाउंछ्न् । विशेष गरी कृषिमा केही गर्न खोज्ने युवालाई स्थानीय तहले सहयोग गर्नुपर्नेमा उनको जोड छ ।मल बीउ बिजन, समयमा कीटनाशक औषधि, प्राविधिक सहयोग, सिचाई र उपयुक्त माटो भए मेवामा राम्रो मुनाफा निस्किने उनको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्