तपाईँ सुन्दै हुनुहुन्छः

जानकीमा गुणस्तरीय शिक्षातर्फ नयाँ पहल

बाँके। जानकी गाउँपालिका–३ स्थित नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि विषयमा आयोजना गरेको कार्यक्रमले स्थानीय तहमा शिक्षा सुधारसम्बन्धी नयाँ बहस सुरु गरेको छ । कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, शिक्षा क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले गुणस्तरीय शिक्षाका लागि सबै पक्षको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष छब्बन खाँले गुणस्तरीय शिक्षाको आधार सक्षम, योग्य र उत्प्रेरित शिक्षक रहेको बताउनुभयो । उहाँले कन्या विद्यालय आधारभूत तहबाट माध्यमिक तहसम्म विस्तार हुनु उपलब्धिपूर्ण भएको उल्लेख गर्दै गुणस्तरमा कुनै कमी आउन नदिन शिक्षकहरूलाई निर्देशन दिनुभयो ।

अध्यक्ष खाँले शिक्षा समाज परिवर्तनको शक्तिशाली माध्यम भएको भन्दै यसले गरिबी, अशिक्षा र सामाजिक असमानता अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । जानकी गाउँपालिका बहुल समुदायको क्षेत्र भएकाले समावेशी र सहज शिक्षा सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले विद्यालयलाई ‘स्मार्ट विद्यालय’ बनाउने लक्ष्यसहित करिब तीन करोड रुपैयाँ बजेट माग गरिएको जानकारी दिनुभयो । उहाँले “पढ्दै कमाउँदै” अवधारणालाई अघि बढाउनुपर्ने बताउँदै गुणस्तरीय शिक्षा सबै बालबालिकाको अधिकार भएको उल्लेख गर्नुभयो ।

शिक्षा शाखा प्रमुख कृष्णा कुमारी भण्डारीले कन्या विद्यालयको स्तरोन्नति ऐतिहासिक उपलब्धि भएको बताउँदै यसलाई नमूना विद्यालयका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

शिक्षाविद् किरण आचार्यले गुणस्तरीय शिक्षालाई परीक्षा परिणाममा मात्र सीमित नराखी जीवनोपयोगी सीप, नैतिकता र स्वावलम्बनसँग जोड्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयलाई माध्यमिक तहसम्म सञ्चालन गर्ने अनुमति पत्र पनि प्रदान गरिएको थियो । सरोकारवालाहरूले यसलाई छोरी शिक्षाको क्षेत्रमा महत्वपूर्ण कदमका रूपमा लिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button