महोत्तरीमा घरमै पसेर कुटपिट गरी दलित महिलालाई बलात्कारको प्रयास
महोत्तरी I महोत्तरीकाे गौशाला नगरपालिका–८, भरलेहनीस्थित मुसहर बस्तीमा शनिबार राति करिब १२ बजे भएको घटनाले स्थानीय बस्तीमा त्रास र आक्रोश फैलाएको छ।
स्थानीय बरेन्द्र सदाको घरमा दुई जना अपरिचित व्यक्ति जबरजस्ती प्रवेश गरी अन्दाजी २५ वर्षीय महिला माथि कुटपिट गर्दै जबरजस्ती करणी गरेको प्रारम्भिक प्रहरी अनुसन्धानबाट खुलेको छ।
घटनाका क्रममा पीडितका तीन जना साना छोरीहरूलाई समेत कुटपिट गरिएको बताइएको छ। पीडितका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा भारतमा रहेको जनाइएको छ। पीडित जानकी सदाले घटनापछि न्यायको माग गर्दै आफू सुतिरहेको अवस्थामा घरभित्र प्रवेश गरी कुटपिट गर्दै जबरजस्ती गरिएको बताएकी छन्।
साथै आफ्ना साना छोरीहरूलाई समेत आक्रमण गरिएको उहाँको भनाइ छ। घटनापछि इलाका प्रहरी कार्यालय गौशालाले घटनामा संलग्न हुन सक्ने आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएर उनीहरूमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता शैलेन्द्र भट्टले जानकारी दिनुभयो । घाइते जानकी सदाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्