तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

टीकापुर । कैलालीको टीकापुरमा थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु भएको छ । थारू साहित्य तथा सांस्कृतिक उत्सवको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्तले उद्घाटन गर्नुभयो ।

सो अवसरमा पन्तले मानिसको जीवनसँग जोडिएको साहित्य, कला र संस्कृति संरक्षण गर्नु विश्वविद्यालयको समेत दायित्व हुने बताउनुभयो । “देशभरका साहित्य सर्जक जम्मा गरी साहित्य र कलासम्बन्धी तालिम दिएर विद्यार्थीलाई साहित्य लेखन र नाटक सिकाउनुभएकामा आयोजक साहित्य समाजलाई धन्यवाद”, उहाँले भन्नुभयो, “साहित्य र कला विकास विश्वविद्यालयको पनि दायित्व हो । हाम्रा विद्यार्थीलाई पनि साहित्यमा रुचि जगाउने काम यो महोत्सवले गरेको छ ।”

सङ्गीतकार रेशमलाल चौधरीले थारू समुदायको भित्रसम्म पुगेर लेख्ने र पात्र छनोट गर्ने प्रवृत्ति महेशविक्रम शाहमा भएकाले उहाँको उचाइ निकै माथि पुगेको बताउनुभयो । 

कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टिएन जोशीले सुदूरपश्चिम कला र साहित्यको भूमि भएको बताउनुभयो । “सङ्घीयतापछि कला र साहित्य विकासका लागि प्रज्ञा प्रतिष्ठान लागिरहेको छ, गत वर्षदेखि हामी साहित्य समाजसँग सहकार्य गरेर साहित्य र कला संरक्षणका प्रयासमा लागेका छौँ”, उहाँले भन्नुभयो, “कला र संस्कृतिको धनी सुदूरका संस्कृतिको चर्चा र संरक्षण आवश्यक छ ।”

नेपाली चलचित्र क्षेत्रका रङ्गकर्मी नीर शाहले जीवनदेखि बाहिर पनि अर्को जीवन छ, त्यो साहित्य र सङ्गीत भएकाले जीवन महत्त्वपूर्ण बनाउन साहित्य र सङ्गीत चाहिने बताउनुभयो । 

साहित्यकार तथा राजनीतिक विश्लेषक केशव दाहालले समाजमा अक्षर, गीत, किताब नभए कस्तो होला, सुदूरमा देउडा नभए कति खल्लो होला भनी प्रश्न गर्दै यी सबै चिज भएर समाज समृद्ध भएको, मानवीय भावना जीवित भएको बताउनुभयो ।

नाट्यकर्मी अशिष मल्लले क्रिएटिभ मानिसहरू दुई प्रकारका हुने बताउँदै, कोही लेखेर बस्ने, कोही केही नयाँ गर्न खोज्ने खालका हुने देखेको बताउनुभयो । उहाँले टीकापुर साहित्य महोत्सवको चर्चा देशभरि भइरहेको, आफूले पनि नाटक प्रशिक्षण गर्दा यहाँको संस्कृति सिक्न पाएको बताउनुभयो ।

साहित्यकार निलम कार्की नेहारिकाले नेपालको भूगोल नेपालीलाई राम्रोसँग नचिनाइएको बताउँदै शिक्षासँग इतिहास, इतिहाससँग संस्कृति जोडेर लिनुपर्नेमा जोड दिनुभयो । उहाँले स्वर्गीय महेन्द्र राजासँग जोडिएको इतिहास टीकापुर पार्कमा जोगाएर राखेकामा टीकापुरवासीलाई धन्यवाद दिनुभयो ।

टीकापुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख रामबहादुर नगार्जीले साहित्य महोत्सवले धर्म, संस्कृति र कलालाई संरक्षणमा योगदान दिने उद्देश्यले कार्यक्रम भएकाले आयोजक साहित्य समाजलाई धन्यवाद दिनुभयो । साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रम तीन दिनसम्म चल्नेछ ।

साहित्य महोत्सवअघि प्रदेशस्तरीय कविता प्रतियोगिता भएको थियो । प्रतियोगितामा कविहरूका कविता माग गरिएको थियो । कविता प्रतियोगितामा उत्कृष्टलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको छ । प्रतियोगितामा कवि चेतना शर्मा प्रथम हुनुभएको छ । उहाँले १५ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । कविता प्रतियोगितामा उद्गम मिसन द्वितीय हुनुभएको छ । उहाँले नगद रु १० हजार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

त्यसैगरी तृतीय स्थान हासिल गर्नुभएकी स्वीकृति शर्माले नगद रु पाँच हजार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ भने सान्त्वना स्थान हासिल गरेका रचना डिसी र कमल ढुङ्गानाले प्रमाणपत्र पाउनुभएको छ ।

कार्यक्रममा थारू समुदायका सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । विसं २०७९ मा स्थापना भएको टीकापुर साहित्य समाजले ‘साहित्यमार्फत सामाजिक सद्भाव’ भन्ने उद्घोषका साथ बर्सेनि महोत्सव गर्दै आएको छ । यस वर्ष थारू साहित्य तथा संस्कृति विशेषका रूपमा मनाइँदैछ । महोत्सवको पूर्व सन्ध्यामा नाटक लेखन प्रदर्शन र लेखन कार्यशाला भएको थियो । महोत्सव टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा भइरहेको छ । महोत्सवमा थारू साहित्य तथा संस्कृतिमाथि बौद्धिक विमर्श, विभिन्न विषयमा बहस हुनेछन् । कार्यक्रममा देशैभरिका सयौँ साहित्यकार, लेखक तथा सङ्गीतकार सहभागी भएका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button