नुवाकोट–१ मा रास्वपाका डा विक्रम तिमिल्सिना निर्वाचित
त्रिशूली (नुवाकोट)। नुवाकोट निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा विक्रम तिमिल्सिना विजयी हुनुभएको छ ।
रास्वपाका तिमिल्सिनाले २२ हजार ६०९ मत ल्याएर विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत प्रमोद रिजालले जानकारी दिनुभयो ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार डा प्रकाशशरण महतले १८ हजार ५९७ मत प्राप्त गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका हितबहादुर तामाङले १३ हजार ३७७ मत, नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीले आठ हजार ९३२ मत र उज्यालो नेपाल पार्टीका उम्मेदवार अमित तामाङले दुई हजार ६३ मत प्राप्त गर्नुभएको छ ।
नुवाकोट–१ मा १८ जना उम्मेदवार रहेकामा बाँकी सबैले एक हजारभन्दा कम मत ल्याएका छन् । राप्रपाका बिमला थापाले ७५६, श्रम संस्कृति पार्टीका दावा फेन्जु लामाले २८८, मङ्गोल नेशनल अर्गनाइजेशनका कुमार राना मगरले १५९, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महेन्द्र तामाङ १५६ र प्रगतिशील लोकतान्त्रिक पार्टीका राजन गौतमले ८८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीका रबिन्द्र डङ्गोलले ५०, जनता समाजवादी पार्टीका होमबहादुर राईले २४ र मितेरी पार्टी नेपालका बिवेक सिलवालले ६ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत प्रमोद रिजालले जानकारी दिनुभयो ।
स्वतन्त्र उम्मेदवारहरु संजिव गुरुङले ६३, राजु थापा ४९ र चेपे तामाङले १४ मत प्राप्त गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्