तपाईँ सुन्दै हुनुहुन्छः

बाँके २ मा इस्तियाक राईको अग्रता कायम

बाँके । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँके क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार मोहम्मद इस्तियाक राईले अग्रता बढाउँदै लैजानुभएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपालगन्जका अनुसार हालसम्मको मतगणनामा राईले ११ हजार ४१२ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुधांशु कोइरालाले ७ हजार ८८९ मत पाउनुभएको छ। यससँगै राईले कोइरालामाथि ३ हजार ५२३ मतको अग्रता कायम गर्नुभएको छ।

सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेक श्रेष्ठले ७ हजार ८८ मत प्राप्त गर्दै प्रतिस्पर्धालाई त्रिपक्षीय बनाइरहनुभएको छ।

हालसम्म डुडुवा गाउँपालिकाका सबै ६ वटा वडा तथा नेपालगन्ज उपमहानगरपालिका–१, २,३ र ५ को मतगणना सम्पन्न भएको छ । डुडुवाको मतगणनामा पछि परेका रास्वपाका श्रेष्ठले नेपालगन्ज उपमहानगरपालिकाको मतगणना सुरु भएसँगै मतान्तर घटाउँदै लगेका छन्।

एमाले उम्मेदवार तथा पूर्वमन्त्री राईको परम्परागत प्रभाव क्षेत्र मानिने बाँके–२ मा कांग्रेसका कोइराला र रास्वपाका श्रेष्ठले कडा प्रतिस्पर्धा दिइरहेका छन्।

यद्यपि नेपालगन्ज उपमहानगरपालिकाका अझै १९ वटा वडाको मतगणना हुन बाँकी रहेकाले अन्तिम परिणामका लागि थप प्रतीक्षा गर्नुपर्ने देखिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button