तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा व्यावसायिक रेसम खेती सुरु

सल्यान । सल्यानमा पहिलो पटक व्यावसायिक रेसम खेती सुरु गरिएको छ ।जिल्लाको शारदा नगरपालिका–२ जोगी देउखोलामा व्यावसायिक रेसम खेती सुरु गरिएको हो ।

सूर्योदय बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर तीन युवा मिलेर रेसम खेती सुरु गरेका छन् ।

७२ रोपनी जग्गा भाडामा लिएर रेसम खेती सुरु गरिएको नारायण दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले ४० हजार किम्बुको बिरुवा रोपिएको छ ।’ दाङबाट किम्बुको बिरुवा ल्याएर रोपेको र मङ्सिर पुस महिनादेखि पहिलो चरणको रेसम उत्पादन गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो ।

आफू स्वरोजगार बन्ने र स्थानीय युवालाई रोजगारी दिने उद्देश्यले कृषि फर्म सञ्चालन गरिएको उहाँले बताउनुभयो । फर्म दर्ता, जग्गा भाडा, किम्बुका बिरुवा खरिददेखि अहिलेसम्म करिब रु.५५ लाख रुपैयाँ खर्च भएको उहाँको भनाई छ ।
उहाँले पश्चिम नेपालमा रेसम खेतीको राम्रो सम्भावना देखेर सल्यानमा खेती गर्न थालिएको बताउनुभयो ।

रेसम खेतीसँगै व्यवसायी हाँस, कुखुरा र बाख्रा पालन गर्ने योजना रहेको यज्ञविक्रम शाहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले रेसम खेती सुरु गरेका छौँ, यसलाई व्यवस्थित गर्दै करिब एक हजार हाँस, एक हजार लोकल कुखुरा र उन्नत जातका ७० बढी बाख्रा पालन गर्ने योजना छ, त्यसका लागि पहिलो चरणको काम सम्पन्न गरेका छौँ’ । रेसम खेती गर्दा किम्बुको घाँस पनि प्रयोगमा आउने गरी बाख्रा पालन गर्ने तयारी गरिएको उहाँको भनाई छ ।

आसपासका क्षेत्रमा रेसम प्रशोधन केन्द्र नभएकाले यहाँ उत्पादन भएको रेसमलाई धादिङ पठाउने योजना रहेको उहाँले बताउनुभयो । ‘रेसम खेती गर्न सुरुमा समस्या हो, रेसमको धागोको बजार माग राम्रो छ, सुरुमा हामीले यहाँको रेसम जिल्ला बाहिर पठाउँछौँ, पछि जिल्लामा नै प्रशोधन केन्द्र सञ्चालन गर्ने आगामी योजना छ’ उहाँले भन्नुभयो । फर्ममा अहिले तीन जनालाई रोजगारी समेत दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button