तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा : निर्वाचन आयोग

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सह सचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सम्पूर्ण जिल्लामा पुर्याइसकिएको जानकारी दिनुभयो।

मतदाता शिक्षा कार्यक्रम अन्तर्गत ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा स्वय+मसेवक परिचालन गरी मतदाता शिक्षा प्रदान गर्ने कार्य जारी रहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

मतदान केन्द्र रहेका विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयलगायतका भौतिक संरचना मतदान कार्यमा उपयोग गर्नका लागि उपलब्ध गराईदिन नेपाल सरकार र सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिसकिएको उहाँले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो।

निर्वाचन सुरक्षा, अत्यावश्यक सेवाको सञ्चालन र सहजीकरण, निर्वाचन र मतदान प्रक्रियामा समन्वय र व्यवस्थापनका क्षेत्रमा आवश्यक निर्णय आयोगबाट भइसकेको पनि प्रवक्ता भट्टराईले बताउनुभयो ।

आयोगले हप्ताभरिमा सम्पादन गरेका मुख्य कार्यहरूको संक्षिप्त विवरण
केन्द्रीय आचारसंहिता अनुगमन समितिबाट गरिएका कार्य

निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाही गर्ने प्रक्रिया जारी राखेको प्रवक्ता भट्टराईले जानकारी गराउनुभएको छ।

आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन अधिकृत, सुरक्षा निकाय तथा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयहरू क्रियाशील रहेका केन्द्रीय आचारसंहिता अनुगमन समितिमा इमेल, व्यक्तिगत दर्ता तथा सञ्चारमाध्यमबाट जानकारी लिइएका समेत २५४ उजुरीमध्ये ‍८८ वटा उजुरीमा स्पष्टीकरण सोधिएकोमा ५७ वटाको जवाफ प्राप्त भएको प्रवक्ता भट्टराईले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो ।

स्पष्टीकरण सोधिएको विवरण
आयोगबाट सोधिएका स्पष्टीकरणमध्ये राजनीतिक दलहरूलाई सोधिएका स्पष्टीकरणको संख्या ४ र उम्मेदवारलाई सोधिएको स्पष्टीकरणको संख्या ३३ रहेको उहाँले जानकारी गराउनुभएको छ ।

त्यस बाहेक सरकारी/शैक्षिक संस्था/कर्मचारी तथा अन्य व्यक्तिलाई ५१ वटा स्पष्टीकरण सोधिएको छ। प्रदेशगत रुपमा कोशी प्रदेशमा ८, मधेश प्रदेशमा १३, बागमती प्रदेशमा ४०, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा ७, कर्णाली प्रदेशमा ४, र सुदूरपश्चिम प्रदेशमा ४ वटा रहेका पनि प्रवक्ता भट्टराईले बताउनुभयो ।

कारबाहीको निर्णय
आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीका प्रक्रिया अन्तर्गत आयोगबाट सम्बन्धित राजनीतिक दल, उम्मेदवार तथा निकायबाट स्पष्टीकरण समेत लिई सोउपर जाँचबुझपछि देहायको निर्णय भएको पत्रकार सम्मेलन मार्फत प्रवक्ता भट्टराईले बताउनुभएको छ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (झ) र (ण) विपरीत कार्य गरेकोमा नेपाली कम्युनिस्ट पार्टीका जाजरकोट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शक्ति बहादुर बस्नेतलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) तथा ऐ, आचारसंहिताको दफा ४८ को उपदफा (१) बमोजिम रु. २५,००० (पच्चीस हजार) जरिवाना गर्ने निर्णय भएको छ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (ठ), (ण) र (प) प्रतिकूल कार्य गरेकोमा आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल जनसेवा पार्टीका उम्मेदवार डा. कमल भुसाल (निकोलस भुसाल) लाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) तथा ऐ, आचारसंहिताको दफा ४८ को उपदफा (१) बमोजिम रु. २५,००० (पच्चीस हजार) जरिवाना गर्ने निर्णय भएको छ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (छ) र ऐ, आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (घ) को उल्लङ्घन गरेकोमा श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) तथा ऐ, आचारसंहिताको दफा ४८ को उपदफा (१) बमोजिम रु. २५,००० (पच्चीस हजार) जरिवाना गर्ने निर्णय भएको छ।

उम्मेदवारलाई सचेत गराइएको
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार खगेन्द्र सुनारलाई निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी अभिव्यक्ति नदिन सचेत गराउने निर्णय भएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहनुभएकी जानुका पाठक (शोभा) ले जेनजी आन्दोलनमा रगतले लतपतिएको आइकोनिक जुत्ता दुरुपयोग नगर्न सचेत गराउँदै अब उप्रान्त यस्तो कार्य गरेमा प्रचलित निर्वाचन कानुन बमोजिम कारबाही गरिने निर्णय भएको।

साविकको पदमा बहाल
गोरखापत्र संस्थानले निर्वाचन आचारसंहिता, २०८२ को दफा ७ को खण्ड (च) र (छ) विपरीत कार्य गरेकोमा मधेश प्रदेशस्तरीय कार्यालयका संयोजक धर्मेन्द्र कुमार झा र बागमती प्रदेशस्तरीय कार्यालयका संयोजक शालिग्राम नेपाललाई साविककै पदमा कार्य गर्न दिने गरी निर्णय भएको पनि प्रवक्ता भट्टराईले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको छ।

विभागीय कारबाही सिफारिस
वन तथा वातावरण मन्त्रालय अन्तर्गत ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख रामदेव चौधरीले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी सामाजिक सञ्जालमा द्वेषपूर्ण तथा अपमानजनक अभिव्यक्ति दिई निर्वाचन आचारसंहिता, २०८२ को दफा ७ को खण्ड (क) र (झ) विपरीतको कार्य गरेकोमा निजामती सेवा ऐन, २०४९ को दफा ४२ को उपदफा (१), ऐ, ऐनको दफा ४४ बमोजिम विभागीय कारबाही गरी सोको जानकारी आयोगमा गराउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता भट्टराईले बताउनुभयो।

त्यसैगरी धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नं. ५ मा रहेको श्री माध्यमिक विद्यालयका शिक्षक दिपनारायण ठाकुर राजनीतिक गतिविधिमा संलग्न भई निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड (क) प्रतिकूल कार्य गरेकोमा शिक्षा ऐन, २०२८ बमोजिम विभागीय कारबाही गरी आयोगमा जानकारी गराउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको पनि प्रवक्ता भट्टराईले बताउनुभयो।

जिल्ला आचारसंहिता अनुमगन समितिबाट भएका काम कारबाही
जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कूल १,०७६ वटा उजुरी परेका र त्यसमध्ये १,०६१ वटा (९९ प्रतिशत) फर्छ्यौट भएको जानकारी प्राप्त भएको प्रवक्ता भट्टराईले बताउनुभएको छ। प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ वटा उजुरी परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन्। प्राप्त उजुरीमध्ये ९७ वटा (९प्रतिशत) लिखित र ९७९ ओटा (९१ प्रतिशत) टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएका थिए।

प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठूला तुल ब्यानर र झण्डा प्रयोग गरेको, सामाजिक सञ्जालको दुरुपयोग गरेको, डिजे माइक बजाएर ध्वनि प्रदुषण गरेको, शिक्षक तथा कर्मचारीहरू र स्थानीय जनप्रतिनिधिहरू प्रचारप्रसारमा हिँडेको, सार्वजनिक स्थान र सवारीसाधनमा झण्डा टाँगेको, अनुमति नलिएका सवारी साधन प्रयोग गरेको लगायतका रहेका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

निर्वाचन सुरक्षा तथा सहजीकरण
हालको सुरक्षा अवस्थाको समीक्षा तथा आगामी दिनमा राजनीतिक दल र उम्मेदवारले आयोजना गर्ने सभा, जुलुसलगायतका कार्यक्रम, प्रचारप्रसार निषेध अवधिमा आचारसंहिताको पालना र मतदानको दिनको सुरक्षालाई प्रभावकारी बनाउन उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक सम्पन्न भएको प्रवक्ता भट्टराईले जानकारी गराउनुभएको छ।

बैठकमा भएको समीक्षाबाट हालसम्मको सुरक्षा अवस्था सन्तोषजनक रहेको पाइएको छ भने मतदान पूर्व र मतदानको दिनमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन बैठकको निर्णयका आधारमा आयोगले नेपाल सरकारलाई सिफारिस गरेको उहाँले जानकारी दिनुभयो।

सिफारिस गरिएका विषय
यहिँ फागुन १८ गते राति १२:०० बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता भट्टराईले बताउनुभयो। साथै जिल्ला आचारसंहिता अनुगमन समितिले आवश्यक व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउने मतदानको मितिभन्दा ७ दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री-बितरण तथा सेवनमा प्रतिबन्ध लगाउने।

मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन) हरू, कूटनीतिक निकायका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेका सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनहरू संवत् २०८२ साल फागुन २० गते राति १२:०० बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्‍न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउने।

मतदानको दिनमा अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू यथावत सञ्चालनको व्यवस्था मिलाउने। अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुहरूलाई विमानस्थलदेखि घर/बसोबास गर्ने होटलसम्म र घर/ बसोबास गर्ने होटलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाउने।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ को दफा ६ मा उल्लेख भएबमोजिम निर्वाचनमा शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा तोकिएका सबै कार्यहरूसहित सोही दफाको खण्ड (झ) मा उल्लेख भएको निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउने सम्बन्धमा उपयुक्त व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयलाई सिफारिस गर्ने।

प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशका, २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र वा नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाण पूर्जा वा सवारी चालक अनुमतिपत्रको सक्‍कल प्रति लिएर मतदान केन्द्रमा जानुपर्ने गरी व्यवस्था गरेको हुँदा सो बमोजिम कुनै एउटा कागजात साथमा लिएर मतदान गर्न जाने मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न पाउने कुरा मतदानमा खटिने सुरक्षाकर्मी, कर्मचारी र सरोकारवालाहरूलाई सूचना संप्रेषण गर्ने। सवारी साधनको अनुमति सम्बन्धी कार्यविधि, २०८२ बमोजिम मतदानको दिनमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी हुने सवारी पास उपलब्ध गराउन आयोगको सचिवालय परिसरमा एकीकृत सवारीसाधन आवागमन डेस्क स्थापना गर्ने।

निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन
निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्चको सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, 2082 स्वीकृत भई कार्यान्वयनमा रहेको प्रवक्ता भट्टराईले पून स्मरण गराउनुभएको छ ।

स्वीकृत कार्यविधि अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने प्रयोजनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवारहरू र स्वतन्त्र उम्मेदवारहरूले कार्यविधि अनुसार निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिई गर्ने आम्दानी र खर्च सोही खातामार्फत हुने व्यवस्था गरिएको जानकारी गराउनुहुँदै प्रवक्ता भट्टराईले अद्यावधिक विवरण अनुसार ११ राजनीतिक दल र १,६७० उम्मेदवारले बैंक खाता खोली सोको जानकारी सम्बन्धित कार्यालयहरूमा गराएका बताउनुभयो ।

घोषणापत्र सार्वजनिक र जानकारी
राजनीतिक दल तथा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्ने र आयोग तथा सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ ले गरेको जानकारी गराउनुहुँदै प्रवक्ता भट्टराईले आचारसंहिताको व्यवस्था बमोजिम घोषणापत्र सार्वजनिक गरी तोकिएका निकायमा पेस गर्न निर्वाचन आयोगले निर्देशन समेत दिएको बताउनुभयो ।हालसम्म जम्मा ४३ वटा राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरी सोको जानकारी आयोगमा गराएका उहाँले बताउनुभयो ।

सूचना सदाचार प्रवर्धन इकाईबाट सम्पादन गरिएका कार्य
निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सञ्चालनमा रहेको सूचना सदाचार प्रवर्धन इकाईले हालसम्म कूल ६१२ वटा टक्सिक सूचना (Toxic Information) पत्ता लगाएको प्रवक्ता भट्टराईले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको छ ।

त्यसमध्ये विद्युतीय कारोबार ऐन, २०६३ आकर्षित हुने ५४५ वटालाई नेपाल प्रहरीमा, निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने १२१ वटालाई केन्द्रीय आचारसंहिता अनुगमन समितिमा, प्रेस काउन्सिल ऐन, २०४८ आकर्षित हुने ७४ वटालाई प्रेस काउन्सिलमा, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ आकर्षित हुने एक वटालाई विज्ञापन बोर्डमा कारबाहीका लागि लेखी पठाइएको उहाँले बताउनुभयो।

यसरी पठाइएकामध्ये हालसम्म नेपाल प्रहरीले १३२ वटा (३९%) लाई, केन्द्रीय आचारसंहिता अनुगमन समितिले ९० वटा (७४%) लाई, प्रेस काउन्सिल नेपालले ३२ वटा (४३%) लाई कारबाही गरेको उहाँले बताउनुभयो । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) ले गरेको एक अध्ययनबाट नेपालको निर्वाचन सम्बन्धमा सम्प्रेषण गरिएका हानिकारक सूचनामध्ये ५४ प्रतिशत सूचना कृत्रिम बौद्धिकता (AI) बाट निर्मित डिप फेक (Deep Fake) चित्र तथा भिडियोहरू प्रयोग भएको पाइएको प्रवक्ता भट्टराईले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको छ।

मतदाता शिक्षा कार्यक्रम
आम नागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रम अनुसार यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाहरूमा एक-एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालित रहेका र यसरी खटिएका मतदाता शिक्षा स्वयंसेवकहरूबाट आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउने कार्य भएको र उक्त कार्य छुटेका ठाउँमा अहिले पनि जारी रहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

मतदाता शिक्षा स्वयंसेवकहरूले सम्पादन गरेका कार्यको अनुगमनका लागि सम्बन्धित स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिलाई अनुगमनकर्ता तोकी उहाँहरुबाट अनुगमन तथा सहजीकरण गर्ने कार्य भइरहेको पनि प्रवक्ता भट्टराईले बताउनुभयो ।

विद्युतीय मतदाता शिक्षा इकाईबाट सम्पादन गरिएका कार्य
विद्युतीय माध्यमबाट मतदाता शिक्षा प्रदान गर्ने उद्देश्यले निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत स्थापना गरिएको मतदाता शिक्षा इकाईले हालसम्म ४७० वटा सामग्री उत्पादन गरेर आयोगबाट स्वीकृत गराई आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युबमा राखेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सचेतना सामग्रीले निर्वाचनको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वसनीय सूचना प्राप्त हुने र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास आयोगले लिएको प्रवक्ता भट्टराईले बताउनुभयो।

यस्ता सामग्रीले डिजिटल प्लेटफर्मबाट समेत मतदाता शिक्षा कार्यक्रम प्रवर्धन गर्नुका साथै आम मतदाताले आधिकारिक सूचना पाउने अपेक्षा आयोगले गरेको पनि उहाँले बताउनुभयो । मतदाता शिक्षा कार्यक्रम प्रवर्धनका लागि आयोगले उत्पादन गरेका संवादमूलक भिडियो सन्देश, गीति सन्देश, लघु भिडियो तथा जिंगलहरू प्रकाशन एवम् प्रसारण गरिरहेको र यस्ता सामग्री आयोगका आधिकारिक डिजिटल प्लेटफर्मबाट प्रसारण भइरहेका प्रवक्ता भट्टराईले जानकारी गराउनुभयो ।

मतदातालाई निर्वाचनमा सहभागी हुन प्रेरित गर्ने, निर्वाचन स्वच्छता बढाउने तथा निर्वाचन आचारसंहिता पालनाका लागि उत्प्रेरित गर्ने सन्देशमूलक सामग्रीबाट मतदान प्रतिशत बढाउन तथा बदर मत प्रतिशत घटाउन भूमिका खेल्ने आयोगको अपेक्षा रहेको प्रवक्ता भट्टराईले बताउनुभएको छ।

कूटनीतिक निकायलाई निर्वाचनको पूर्वतयारीबारे जानकारी
प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र पर्यवेक्षणको व्यवस्थाका सम्बन्धमा काठमाडौँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूलाई आयोगले जानकारी गराएको छ। सो क्रममा छोटो समयमा निर्वाचन तयारी अन्तिम चरणमा पुर्‍याएकोमा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूले खुसी व्यक्त गर्दै तयारीका विविध पक्ष तथा पर्यवेक्षण अनुमतिलगायतमा ज्ञिज्ञासा प्राप्त भएका थिए।

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि आयोगले राष्ट्रियतर्फका ३९ वटा र अन्तर्राष्ट्रियतर्फ ४ वटा गरी ४३ संस्थालाई पर्यवेक्षण अनुमति प्रदान गरेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । अनुमति पाएका संस्थाका प्रतिनिधिहरूलाई अभिमुखीकरण सम्पन्न गरी करिब चार हजार पाँच सय जना पर्यवेक्षकका लागि परिचयपत्र जारी भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

मतपत्र र निर्वाचन सामग्री ढुवानी सम्पन्‍न
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र तथा आवश्यक निर्वाचन सामग्री सातै प्रदेशका सवै जिल्लामा पुर्‍याइसकेको जनाएको छ। मतपत्र तथा प्रदेश र जिल्ला कार्यालयबाट खरिद गरिएका बाहेकका सामग्री आयोगले पठाएको छ।

आसन्न निर्वाचनमा १०,९८,२०० (दश लाख अन्ठानब्बे हजार दुई सय) नमूना मतपत्र छपाइ गरिएको थियो। समानुपातिक निर्वाचन प्रणालीतर्फ २,०८,३०,००० (दुई करोड आठलाख तीस हजार) मतपत्र छपाइ सम्पन्न गरिएको थियो। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका लागि २,०३,२३,००० (दुई करोड तीन लाख २३ हजार) मतपत्र छपाइ भएको आयोगले जनाएको छ।

अस्थायी मतदान केन्द्र निर्धारण
आसन्न निर्वाचनमा १ लाख ८६ हजार ७४ अस्थायी मतदाता कायम भएका छन्। अस्थायी मतदाताले मतदान गर्ने गरी देशभर जम्मा १४३ अस्थायी मतदान केन्द्र निर्धारण गरिएका बताइएको छ ।

कल सेन्टरमार्फत चार हजार बढी जिज्ञासा सम्बोधन
आम मतदाता तथा सरोकारवालाको निर्वाचनसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि आयोगले गएको माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको कल सेन्टरमा फागुन १४ गतेसम्म टेलिफोन र भ्वाइस मेलसमेत गरी जम्मा ४,०३८ वटा जिज्ञासा तथा प्रश्नहरू प्राप्त भएका र प्राप्त जिज्ञासामध्ये मतदाता नामावलीसँग सम्बन्धित १,९५८ निर्वाचन आचारसंहितासँग सम्बन्धित ३८६ मतदाता शिक्षा सम्बन्धित १५७ र अन्य १,१११ रहेका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । कूल जिज्ञासामा ४२६ भ्वाइस मेल रहेका छन्।

संयुक्त निर्वाचन सञ्चालन केन्द्र (JEOC)
आयोगका सचिवको नेतृत्वमा निर्वाचनसम्बन्धी समग्र समन्वय एवम् व्यवस्थापनका लागि केन्द्र स्थापना गरी कार्यान्वयनमा रहेको बताइएको छ।

केन्द्रमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र आयोगका प्रथम श्रेणीका अधिकृतहरुको प्रतिनिधित्व रहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

सो केन्द्रमा नेपाल प्रहरीको सञ्चार उपकरणसहितको टोलीसमेत क्रियाशील रहेको र केन्द्रले मतपत्र र निर्वाचन सामग्रीको ढुवानीमा सुरक्षा समन्वय, निर्वाचन सुरक्षासम्बन्धी गतिविधि संकलन तथा विश्लेषण, हेलिकप्टर आवश्यक पर्ने मतदान केन्द्रहरुको जिल्लाबाट विवरण लिई एकीकृत गरी सोको परिचालन लगायतका कार्यहरु गरिरहेको प्रवक्ता भट्टराईले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button