बीरगंजमा राजस्व छली आशङ्कामा छापामारी, व्यापारी र सुरक्षाकर्मीबीच झडप
बीरगंज। बीरगंज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र आदर्शनगरस्थित एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको छ । राजस्व छलीको आशङ्कामा गरिएको उक्त छापामारीका क्रममा व्यापारी र सुरक्षाकर्मीबिच झडप हुँदा एकजना सशस्त्र प्रहरी घाइते भएका छन् ।

सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल, वीरगन्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीका अनुसार विशेष सूचनाका आधारमा टोली गोदाममा पुगेको थियो । खानतलासी सुरु गर्ने क्रममा स्थानीय व्यापारीहरूले विरोध जनाएका थिए ।
व्यापारीहरूले आफूहरूसँग सामानको स्पष्ट बिलबिजक रहेको दाबी गर्दै विनाकारण सशस्त्र प्रहरीले दुःख दिएको आरोप लगाएका छन् । सोही क्रममा आक्रोशित व्यापारीहरूको समूहले सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको सशस्त्र प्रहरीले जनाएको छ ।
झडपका क्रममा ढुङ्गा प्रहारबाट सशस्त्र प्रहरी चढेको गाडीको अगाडिको सिसा फुट्नुका साथै एकजना सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
सशस्त्र प्रहरीले गोदामबाट ठुलो परिमाणमा भारतीय कपडा लगायतका सामान नियन्त्रणमा लिएको छ । “अहिले सामानको लगत लिने र मुचुल्का उठाउने काम भइरहेको र गोदाम कसको हो भन्ने विषयमा पनि अनुसन्धान जारी रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीले बताउनुभयो ।
यता व्यापारीहरूले भने वैध रूपमा व्यवसाय गर्दै आएका व्यक्तिलाई पनि तस्करझैँ व्यवहार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बिलबिजक देखाउँदा समेत सामान नियन्त्रणमा लिन खोजिएपछि स्थिति नियन्त्रण बाहिर गएको उनीहरूको भनाइ छ ।
घटनापछि आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन केसीले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्