तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्ज नाकाबाट विदेशी मदिराको आयात घट्दै 

वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगञ्जमा विदेशी मदिराको आयात घट्दै गएको छ । 

राजश्व असुलीको आधारमा मुख्य आयात हुने सात माल बस्तु भित्र पर्ने विदेशी मदिराजन्य पेय पदार्थको आयात यस वर्ष उल्लेख्य रुपमा घट्दा त्यसको असर राजश्व सङ्कलनमा परेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

विदेशी ब्रान्डका मदिरा अन्तर्गत ह्विस्की, वाइन, बियर, भोड्का लगायतका मदिराजन्य पेय पदार्थको राजश्व दर अत्यधिक रहेको कारण महँगो हुँदा आयात घटेको भन्सारका कर्मचारीहरूले बताएका छन् । 

चालु आर्थिक वर्ष २०८२/०८३ को ६ महिनामा वीरगञ्ज नाकाबाट आयात हुने विदेशी मदिरा बापत भन्सारले १ अर्ब ८३ करोड राजश्व असुली गरेको छ । तर गत आर्थिक वर्षमा भन्सारले सो अवधिमा २ अर्ब ४१ करोड राजश्व विदेशी मदिरा आयातबाट प्राप्त गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले बताउनुभयो । 

गतबर्षको तुलनामा यस वर्ष विदेशी मदिरा आयातबाट २४ दशमलब ७ प्रतिशत राजश्व असुलीमा गिरावट आएको र ५८ करोड कम राजश्व असुली भएको वीरगञ्ज भन्सारको तथ्याङ्कमा उल्लेख छ । 

विदेशी मदिरा आयातबाट चालु आर्थिक वर्षको ६ महिनामा वीरगञ्ज भन्सारको कुल राजश्वको  १ दशमलव ५७ प्रतिशत मात्रै योगदान रहेको भन्सार तथ्याङ्कले देखाएको छ । 

विगतका वर्षहरुमा विदेशी मदिराको आयातबाट कुल भन्सार राजश्वको २ प्रतिशत भन्दा बढी योगदान रहँदै आएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button