विजयपुर–साँगुरीगढी–पाख्रीबास पदयात्रा सम्पन्न
धनकुटा। ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गते सुनसरीको विजयपुरगढीदेखी सुरु भएको पदयात्रा सम्पन्न भएको छ।

बुधवार विजयपुर–साँगुरीगढी–पाख्रीबास पदयात्रा धनकुटाको पाख्रीबास नगरपालिकामा पुगेर एक कार्यक्रमका बिच समापन भएको हो। पदयात्रा समापन कार्यक्रमका प्रमुख अतिथि पाख्रीबास नगरपालिका प्रमुख ज्ञानबहादुर गुरुङले यस पदयात्राले देश भक्तिको सन्देश फैलाउने बताउनु भयो। यस्तै उहाँले भने नयाँ कामको सुरुवात भएसँगै नेपाली सेनालाई सधैँ सहयोग गरेर अगाडी बढ्ने बताउनु भयो। पदयात्रा समापन कार्यक्रममा नेपाली सेनाले सुदूरपश्चिमको मौलिक छलिया नृत्य समेत प्रस्तुत गरेको थियो भने विभिन्न स्थानीय कला संस्कृति झल्काउने सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो।
पदयात्रा पहिलो दिन विजयपुरगढी देखी धनकुटाको साँगुरीगढीमा सम्म आएको थियो। यस्तै दोस्रो दिन साँगुरीगढीबाट करिब ९ किलोमिटर दुरी पार गर्दै धनकुटा नगरपालिका–९, स्थित मुलघाट आइपुगेको थियो। साँगुरीगढी, धारापानी, घण्टे, फेदी, हुँदै मुलघाटमा आइपुगेको थियो। पदयात्रा टोलिलाई साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई लगायतले विदाई गर्नुभएको थियो। यस्तै तेस्रो दिन मुलघाटबाट करिब १४ किलोमिटर दुरी यात्रा पछि महाङ्ग, बेलहरा हुँदै धर्मशाला पुगेको थियो। धर्मशाला आइपुगेको उक्त टोलीलाई धनकुटा नगरपालिका–९ का वडाध्यक्ष टंक रोइला, स्थानीय तथा विद्यार्थीहरूले अबिर मालासहित भव्य स्वागत गर्नुभएको थियो। यस्तै बुधवार बिहान पदयात्रा टोली धर्मशालाबाट पाख्रीबासमा आइपुगेको थियो।

नेपाली सेनाले ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षण गर्दै प्रवर्धन गर्ने उद्देश्यले पदयात्रा गरिएको भीमदल गण सल्लेरी धनकुटाका गणपती गणेश थापाले जानकारी दिनुभयो।
ऐतिहासिक रूपमा रहेको विजयपुरगढी, साँगुरीगढी र पाख्रीबास क्षेत्रको पहिचान, संरक्षण तथा प्रवर्द्धनका साथै राष्ट्रिय एकता र देशभक्तिको सन्देश फैलाउने उद्देश्यले पदयात्रा गरिएको नेपाली सेनाले बताएको छ। इतिहास संरक्षणमा लागि पदयात्रा तय गरेको र संवर्द्धनमा टेवा पुग्नुका साथै राष्ट्रिय एकताको भावना समेत अभिवृद्धि हुने जनाइएको छ। नेपालको एकीकरणको दौरानमा फुस्रे, चिउरीबास, साँगुरीगढी, फेदी, टेकुनाला, धनकुटा, बेलहरा, उत्तरपानी, हिले, पाख्रिबास लगायतका स्थानमा पुग्न प्रयोग भएका मार्गलाई जीवन्त राख्न र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन पदयात्रा गरिएको समेत गणपति थापाले बताउनु भयो।








प्रतिक्रिया राख्नुहोस्