तपाईँ सुन्दै हुनुहुन्छः

तस्करी नियन्त्रणका लागि लुम्बिनी प्रदेश सरकारलाई सात बुँदे ज्ञापनपत्र

बाँके । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले तस्करी तथा अवैध आयात–निर्यात नियन्त्रणको माग गर्दै लुम्बिनी प्रदेश सरकारलाई सात बुँदे ज्ञापनपत्र बुझाएको छ । सङ्घ स्थापनाको ५८औँ वार्षिकोत्सवको अवसरमा बिहीबार नेपालगन्जमा आयोजित कार्यक्रममा सङ्घका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओलीले लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालमार्फत उक्त ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको हो ।

ज्ञापनपत्रमा सीमावर्ती भारतीय बजार रूपैडिहामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले लागू गरेको जस्तै व्यवस्था नेपाल–भारत सीमा जमुनाह नाकामा पनि अनिवार्य रूपमा परिचयपत्र जाँच गर्नुपर्ने माग गरिएको छ । साथै सम्भावित तस्करी हुने नाकाहरूमा ब्यारियरसहित सशस्त्र प्रहरीको अस्थायी पोस्ट स्थापना गर्नुपर्ने, पाइडल रिक्साको निर्बाध सीमा वारपार आवागमन तत्काल रोक्नुपर्ने माग पनि समावेश गरिएको छ ।

सशस्त्र द्वन्द्व कालमा बन्द गरिएका साइगाउँ, भनघोटना, खडैचा, उढरापुर, भगवानपुर, नरैनापुर र सुइँयाब घौडाका छोटी भन्सारहरू पुनः सञ्चालन गर्नुपर्ने विषय पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ । यसैगरी, जमुनाह नाकामा स्क्यानर मेसिन जडान गरी अनिवार्य चेकजाँचको व्यवस्था गर्नुपर्ने र नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकिरहेको अवस्थाबारे अध्ययन गरी अवैध आयात–निर्यातमा संलग्न प्रहरी, प्रशासन तथा भन्सार कर्मचारीलाई कडाइका साथ कारबाही गर्नुपर्ने माग सङ्घले गरेको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री अग्रवालले तस्करी तथा क्यारिङ नियन्त्रण गर्न नसक्ने प्रहरी–प्रशासनलाई कारबाही गरिने स्पष्ट पार्नुभयो । उहाँले यस विषयमा सम्बन्धित निकायका उच्च अधिकारीहरूलाई पटक–पटक निर्देशन दिइसकेको र आगामी दिनमा तस्करी नियन्त्रणका लागि अझ कडा कदम चालिने बताउनुभयो । सीमा नाकामा भइरहेको तस्करी र अवैध आयातप्रति आफू गम्भीर रहेको उल्लेख गर्दै मन्त्री अग्रवालले यस विषयमा सङ्घीय सरकारको गृह मन्त्रालय र प्रहरी महानिरीक्षकसँग पनि छलफल गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ तथा सङ्घका पूर्व अध्यक्षहरू कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यले सीमा नाकामा प्रभावकारी कडाइ नहुँदा नेपालगन्जको व्यापार व्यवसाय धराशायी बन्दै गएको भन्दै तस्करी र अवैध आयात तत्काल रोक्नुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षहरू कन्हैयालाल टन्डन, शतिशचन्द्र अग्रवाल, कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यलाई सम्मान गरिएको थियो । सङ्घलाई सुदृढ र गतिशील बनाउन उहाँहरूले पुर्‍याएको योगदानको कदर स्वरूप सम्मान गरिएको कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओलीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button