तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा रेल चलेपछि झापाको सीमावर्ती क्षेत्रमा नेपालीको सङ्ख्या बढ्दै

भद्रपुर, झापा । भारतमा रेल सेवा सञ्चालन भएसँगै त्यहाँ अलपत्र परेका नेपाली स्वदेश फर्कने गरी सीमावर्ती नाकामा आउन थालेका छन् ।

पूर्वी सीमावर्ती क्षेत्रमा हाल एक हजार दुई सयभन्दा बढी नेपाली स्वदेश फर्किन पाउने आशामा प्रतिक्षारत छन् ।

मंगलबारदेखि भारतले रेलसेवा सञ्चालन गरेपछि विभिन्न शहरमा अलपत्र नेपाली सीमावर्तीसम्म आइपुगेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले उनीहरु सीमावर्ती क्षेत्रमा प्रतिक्षारत रहेको बताउनुभयो ।

झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले पनि सीमावर्ती क्षेत्रमा प्रतिक्षारत नेपालीको संख्या थपिएको बताउनुभयो । माथिल्लो निकायको आदेश आएपछि उनीहरुलाई नेपाल प्रवेश गराउने योजना रहेको उहाँले बताउनुभयो ।

भारतको पश्चिम बंगाल र बिहार राज्यका सीमावर्ती क्षेत्रमा नेपालीको भीड बढ्दै गएको छ ।

यसैबीच, सीमा नजिकै आइपुगेका नेपालीहरु प्रहरीको आँखा छल्दै मौका छोपी नेपाल प्रवेश गर्ने प्रयास गरिरहेका छन् । यसले सीमावर्ती झापा जिल्लामा जोखिम बढेको छ ।

हिजो विहान मात्र दक्षिणी झापाको कचनकवल नाकाबाट नेपाल प्रवेश गर्न खोजेका ११ जना नेपाली युवालाई सुरक्षाकर्मीले सीमामै रोकेका छन् ।

कचनकवल ५ पाठमारीस्थित सीमा पिलर ११२ नजिकैबाट कचनकवल–६ बनियानी घर बताउने ११ जना नेपाली युवा झापा प्रवेश गर्न खोजेको सशस्त्र प्रहरी निरीक्षक नवराज नेपालले जानकारी दिनुभयो ।

उनीहरू मध्ये पाँच जनालाई मेचीवारी र छ जनालाई मेची खोलापारी सीमामा तैनाथ दुवै देशका सुरक्षाकर्मीले रोकेका थिए ।

सशस्त्र प्रहरी निरीक्षक नेपालका अनुसार मुम्बईबाट रेल चढेर बिहीबार किशनगञ्जसम्म र त्यहाँबाट ट्रकमा चढेर ठाकुरगञ्जसम्म आएका उनीहरु हिँडेर पाठामारी सीमासम्म आइपुगेका थिए । उनीहरू मध्ये पाँच जना मकैबारीबाट लुकेर छिर्न खोज्दा र अरु छ जनालाई बाँसे पूल तर्ने क्रममा रोकेको सशस्त्र प्रहरी निरीक्षक नेपालको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button