तपाईँ सुन्दै हुनुहुन्छः

रेडपान्डा संरक्षण सन्देशसहित इलाम–सन्दकपुर म्याराथन आगामी पौष १ गते

इलाम। इलाम चोक बजारदेखि जिल्लाकै अग्लो डाँडो सन्दकपुरसम्म म्याराथन आयोजना हुने भएको छ ।

बिहीबार इलाम सदरमुकाममा पत्रकार सम्मेलनमार्फत दुर्लभ वन्यजन्तु रेडपान्डा तथा जैविक विविधता संरक्षणबारे जनचेतना फैलाउने उद्देश्यले आगामी पौष १ गते म्याराथन आयोजना गर्न लागिएको आयोजक दीपज्योति युवा क्लबले जानकारी दिएको हो।

४४.२ किलोमिटर दूरीको यो म्याराथन समुद्री सतहबाट १,२२० मिटरदेखि ३,६१० मिटर उचाइसम्म निर्धारण गरिएको छ। करिब सय जनाभन्दा बढी धावक सहभागी हुने अनुमान गरिएको छ। प्रतियोगितामा पुरुष खुला, महिला खुला र स्थानीय गरी तीन विधा रहनेछन्। खुला पुरुष तथा महिलातर्फ पुरस्कार रकम समान राखिएको छ—पहिलो हुनेले डेढ लाख, दोस्रोले एक लाख, तेस्रोले ५० हजार र चौथोले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्। स्थानीयतर्फ पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्नेले क्रमशः २५ हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ पाउनेछन्।

म्याराथन सुरु भएपछि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सहायक स्वयंसेवकको टोलीले धावकको निगरानी गर्ने व्यवस्था मिलाइएको क्लबले जनाएको छ। मार्गका विभिन्न स्थानमा पानी, फलफूल तथा आवश्यक परे उपचारसहितका सुविधा उपलब्ध गराइने खेलकुद विज्ञ गणेश खतिवडाले बताए।

विश्वभर करिब १० हजार मात्र रहेको मानिने दुर्लभ रेडपान्डामध्ये नेपालमा करिब एक हजार रहेको अनुमान छ। पूर्वी पहाडका इलाम, पाँचथर, ताप्लेजुङ तथा भारतीय सीमासँग जोडिएका वन क्षेत्र रेडपान्डाको महत्त्वपूर्ण वासस्थान मानिन्छन्। मानिस र अन्य जनावरबाट रेडपान्डाको सुरक्षा गर्न विभिन्न सङ्घ–संस्थाले करोडौँ रुपैयाँका संरक्षण परियोजना सञ्चालन गर्दै आएका छन्। यही सन्देशलाई अझ बलियो बनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको रेडपान्डा परियोजना संयोजक रिमालले बताउनुभयो ।

गत वर्ष क्लबले ताप्लेजुङमा अन्तर्राष्ट्रिय ट्रेल म्याराथन आयोजना गरेको थियो। खेलकुदलाई प्रकृति संरक्षणसँग जोडेर स्थानीय समुदायमा जागरूकता अभिवृद्धि गर्ने लक्ष्य यस वर्षको कार्यक्रमको मुख्य उद्देश्य रहेको क्लबको भनाइ छ।

यस वर्षको म्याराथनमा १६ वर्ष पूरा गरेका धावक सहभागी हुन पाउने आयोजकले स्पष्ट पारेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button