तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा । नेपाल र भुटानका उच्च सरकारी प्रतिनिधिबीच लुम्बिनीमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल र भुटानका गृहमन्त्री ल्योन्पे छिरिङबिच भएको छलफलमा पर्यटन, सांस्कृतिक आदानप्रदान तथा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा केन्द्रित रहेर द्विपक्षीय भेटवार्ता सम्पन्न भएको हो ।

भेटमा मन्त्री पौडेलले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबिच सिधा हवाई उडान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री पौडेलले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई ध्यानमा राख्दै नेपाली नागरिकहरूले पनि भुटान भ्रमण गर्दा प्रतिव्यक्ति प्रतिदिन १०० अमेरिकी डलर बराबरको शुल्क हटाउन वा विशेष सहुलियतको व्यवस्था गर्न आग्रह गर्नुभयो । 

भुटानका गृहमन्त्री ल्योन्पे छिरिङले नेपालले उठाएका विषयहरूलाई सकारात्मक रूपमा लिइएको बताउँदै आवश्यक सरकारी तहमा थप छलफल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

उहाँले लुम्बिनी र भुटानबिचको धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै बौद्ध सम्पदा संरक्षण, तीर्थ पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य बढाउने प्रतिबद्धता पनि जनाउनुभयो । 

यसैबीच बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा शिलान्यास गरिएको छ । मन्त्री पौडेल र भुटानका गृहमन्त्री छिरिङ, भुटानका धर्मगुरु उप महासङ्घ राजा दोर्जे लोपेन रिम्पोछेको उपस्थितिमा गुम्बा शिलान्यास गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button