तपाईँ सुन्दै हुनुहुन्छः

जाडो बढेसँगै गाउँ सुनसान 

मुग । उपल्लो मुगुका अधिकांश बासिन्दा जाडो बढेसँगै न्यानो स्थानको खोजीमा बेसी झरेपछि सिङ्गो गाउँ नै सुनसान बनेको छ। करिब १ सय २० घरधुरी रहेको गाउँमा अहिले घर–घरमा ताल्चा  झुन्डिएको छ।

खेतीपाती गरि बाली थन्क्याएर उपल्लो मुगुका स्थानीय लामा जातीहरू हिउँद सुरु भएसँगै न्यानोको लागि गमगढी, सिरानीचौर, नेपालगन्ज, काठमाडौँ लगायतका सहरी तथा तल्लो बेसी क्षेत्रमा बास सार्ने गरेको बताइन्छ। प्राकृतिक र पर्यटकीय दृष्टिकोणले समतल भू-भाग र मुगु, कर्णाली नदीको उद्गम स्थल उपल्लो मुगु,अत्यन्तै सुन्दर रहेको भए पनि हिउँद ऋतुमा अत्यधिक चिसो, भारी हिमपात र कठ्याङ्ग्रिने तापक्रमका कारण अस्थाई रूपमा आ-आफ्नो पायक पर्ने स्थानमा बसाई सर्ने प्रचलन वर्षौंदेखि  रहीआएको स्थानीय बासिन्दाले बताएका  छन् ।

बेसी झर्नुअघि गाउँलेहरूले घरमा पालेका चौरी तथा अन्य चौपायालाई छापाखोला आसपासका वन क्षेत्रमै छाड्ने र बाँकी गोरु–गाई, भैँसी तथा बाख्रा–बाख्रीलाई बेसीतिर झार्ने गरेका छन् । गाउँमा भने गुम्बाका पुजारी मात्र हेरचाहका लागि बस्ने गरेको मुगुम कार्मारोङ गाउँपालिका वडा नं १ का स्थानीय बासिन्दा छोर्देन लामाले बताउनुभयो ।

हिउँ पग्लिएर मौसम न्यानो बन्दै गएपछि फागुन–चैततिर मात्र गाउँलेहरू पुनः गाउँ फर्कने परम्परा छ। हाल ताल्चा लागेका गाउँका ढोकाहरू हिउँदभर सुनसान रहने निश्चित भएको स्थानीयहरूले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button