तपाईँ सुन्दै हुनुहुन्छः

देशको चुनौती एकजुट भएर सामना गर्नुपर्छ : सहमहामन्त्री राठौर

काठमाडौँ। नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस नेताप्रधान नभई नीतिप्रधान पार्टी भएको बताउनुभएको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्ववियु परिषद्को राष्ट्रिय अधिवेशनको काठमाडौँमा उद्घाटन गर्दै सहमहामन्त्री राठौरले पछिल्लो समय केही व्यक्तिले “म भए मात्र काँग्रेस बच्छ, म नभए काँग्रेस सिद्धिन्छ” भन्ने भाष्य निर्माण गरेर पार्टीलाई नीतिप्रधानबाट नेताप्रधान बनाउने प्रयास गरिरहेको आरोप लगाउनुभयो। काँग्रेसभित्र देखिएको विवादको मूल कारण पनि यही विषय रहेको उहाँको भनाइ छ।

उहाँले नीति र सिद्धान्तलाई प्रधान मानेर अघि बढे मात्र काँग्रेस एकढिक्का भई सबैखाले समस्याको समाधान दिन सक्ने बताउनुभयो।

राठौरले वीपी कोइराला, सुवर्ण शमशेर राणा र कृष्णप्रसाद भट्टराईले स्थापना गरेको काँग्रेस कुनै एक नेताको नभई विचार, सिद्धान्त, निष्ठा र आस्थाको संगठन भएको उल्लेख गर्नुभयो। नेताहरू अस्थायी र नीति तथा विचार स्थायी हुने उहाँको भनाइ छ।

नेपालका मजदुर, किसान, महिला लगायत सबै वर्ग र क्षेत्रका नागरिकको साझा घरका रूपमा काँग्रेस रहेको उहाँले बताउनुभयो।

तीन–तीनवटा प्रमुख आन्दोलनको अगुवाइ गर्दै आधुनिक नेपालको हरेक कालखण्डमा निर्णायक भूमिका खेलेको पार्टीको नेतृत्व गर्ने चाहना स्वाभाविक भए पनि अहिले देश अप्ठ्यारो अवस्थामा रहेकाले सबै एकजुट भएर समस्या सामना गर्नुपर्ने उहाँको धारणा छ। त्यसपछि आन्तरिक विषय टुंग्याउन उपयुक्त हुने उहाँले बताउनुभयो।

सहमहामन्त्री राठौरले १५औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार हुने तयारीमा आफू पनि रहेको जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button