फागुन २१ गतेको निर्वाचनका लागि युवायुवती उत्साहित
जनकपुरधाम । अगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा मतदान गर्नका लागि मतदाताहरूमा विशेष उत्साह देखिएको छ । मधेश प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा फोटो खिचाउनका लागि आउने अधिकांश युवा वर्ग नै रहेको सो कार्यालयले जनाएको छ ।

कार्तिक १ गतेबाट शुरु भएको मतदाता नामावली सङ्कलन अन्तर्गत मधेश प्रदेशबाट अहिलेसम्म ५५ हजारले नयाँ मतदाता बन्नका लागि नाम दर्ता गराएको छ भने ३४ हजारले फोटो सहितको विवरण दिएको मधेश प्रदेशको निर्वाचन कार्यालयका कम्प्युटर अधिकृत कृष्ण राउतले जानकारी दिनुभयो ।
दैनिक रुपमा अहिले ४ सयदेखि ५ सय जनाले धनुषामा रहेको निर्वाचन कार्यालयमा फोटो सहितको विवरण दिनका लागि आउने गरेको निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो । बिहान ८ बजे देखि साँझ ६ बजेसम्म फोटो सहितको विवरण लिने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
फोटो सहितको वायोम्याट्रीक लिनका लागि दुई वटा काउन्टर सञ्चालन कार्यालयले गरेको छ । सीमित जनशक्ति र साधन श्रोत भएकाले थप काउन्टर सञ्चालन गर्ने अवस्था नभएकाले सेवाग्राहीलाई केही समयसम्म लाम बस्नुपर्ने बाध्यता रहेको छ । थप काउन्टर सञ्चालनका लागि सेवाग्राहीले आग्रह गरेका छन् ।
१६ वर्ष उमेर पुगेका नेपाली नागरिकले निर्वाचनको मतदाता नामावलीमा नाम समावेश गर्न सकिने र १८ वर्ष उमेर पुगेपछि मतदान गर्ने संवैधानिक अधिकार रहेको छ । अनलाइनबाटै मतदाता नामावलीमा समावेश गर्न सकिने भएकाले सबै नयाँ मतदातालाई नाम समावेश गर्न सजिलो भएको मधेश प्रदेशको निर्वाचन कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्