तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा सडक सुधारका लागि तीन चरणीय योजना सार्वजनिक

इलाम । जिल्लाभरका सडकहरूलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउन डिभिजन सडक कार्यालय इलामले तीन चरणीय योजना अघि सारेको छ। कार्यालयका प्रमुख पवन भट्टराईले मंगलबार सञ्चारकर्मीहरूसँगको भेलामा उक्त योजना सार्वजनिक गरेका हुन्।

भट्टराईका अनुसार सडक सुधार कार्यलाई तत्काल, मध्यम र दीर्घकालीन आवश्यकता अनुसार तीन चरणमा विभाजन गरिएको छ।

पहिलो चरणमा अवरुद्ध सडक सुचारु गर्ने र तत्काल मर्मत गर्नुपर्ने काम अघि बढाइनेछ। यसअन्तर्गत मेची राजमार्ग, फिक्कल–श्रीअन्तु, सिल्पे–नाम्सालिङ–तिल्केनी खोपिटार सडक, मेची करिडोरको बेल्टारे–पुवा खण्डलगायतका सडकमा ग्राभेल, मर्मत र डोजरमार्फत सुधार भइरहेको छ।

दोस्रो चरणमा आगामी वर्षका लागि पूर्वाधार निर्माण र मर्मतका कार्यहरू समावेश गरिएका छन्। यसमा बेल्टारे पुल निर्माण, पुराना बेकेनहरूको मर्मत, जोङगामा खाल्टाखुल्डी पुरेर सुधार, विभिन्न गल्ली र पुल निर्माण, तथा राजमार्गका नालाहरूको सफाइ र पुनःनिर्माण गरिनेछ।

तेस्रो चरणमा दीर्घकालीन योजना अनुसार सडकलाई दिगो र गुणस्तरीय बनाउन कालोपत्रे र विस्तारका काम गरिनेछ। यस अन्तर्गत मेची राजमार्गका खण्डहरूलाई स्ट्यान्डर्ड डबल लेनमा विस्तार, सिमलडाँडा–तिल्केनी, श्रीअन्तु र फिक्कल सडक कालोपत्रे, नयाँ पुल निर्माण र अन्य सुधार कार्य गरिने योजना रहेको भट्टराईले बताउनुभयो।

उनीका अनुसार इलामको भौगोलिक चुनौतीका बाबजुद सडक सञ्जाल सबल बनाउन स्थानीय तह, संघीय सरकार र सरोकारवाला निकायबीच समन्वय गर्दै काम अघि बढाइनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button