‘पोखरा एन्ड्युरो रेस’ का लागि ९ देशका साइक्लिष्टको नाम दर्ता
पोखरा । पोखरा महानगरपालिका–१३ आर्वामा यस वर्ष तेस्रो संस्करणको ‘पोखरा एन्ड्युरो साइक्लिङ रेस’ हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगिता कार्तिक २७ गतेदेखि सुरु हुने भएको छ ।

डाउन हिल डष्क प्रालिको आयोजनामा हुने यो प्रतियोगितामा ९ देशका साइक्लिष्टले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा अस्ट्रेलिया, सिंगापुर, क्यानडा, जर्मनी, अमेरिका, ओमान, जापान र श्रीलङ्काका खेलाडीले नाम दर्ता गराइसकेका छन् । ओमानको राष्ट्रिय टोली समेत सहभागी हुने प्रालिले जनाएको छ ।
प्रालिका प्रबन्धक तथा रेस निर्देशक सुनिलचन्द्र शर्माका अनुसार प्रतियोगितामा करिब ६० जना साइक्लिष्टले प्रतिस्पर्धा गर्नेछन् । करिब १ दशमलव ६ किलोमिटर दूरीमा डाउन हिल ट्र्याक तयार गरिएको छ । ६ वटा फरक–फरक ट्रेलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता जुनियर (१२–१८ वर्ष), पुरुष एलिट (१९ वर्षमाथि), खुल्ला महिला, मास्टर ए (३०–३९ वर्ष), मास्टर बी (४०–४९ वर्ष) र भेट्रान्स (५० वर्षमाथि) इभेन्टमा आयोजना हुने छ ।
शर्माले आर्वालाई पोखराको साहसिक खेलको हबका रूपमा विकास गर्ने लक्ष्यसहित २०२० देखि साइक्लिङ रेस आयोजना गर्दै आएको बताउनुभयो । उहाँका अनुसार आर्वामा हालसम्म ६ वटा ट्रेल निर्माण भइसकेका छन् र पूर्वाधार विस्तारमा हालसम्म करिब २५ लाख रुपैयाँ खर्च भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्