तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वी पहाडको मुख्य यातायात मार्ग मेची राजमार्ग पुनः अवरुद्ध

इलाम।कात्तिक १२ यता परिरहेको लगातार वर्षाले पूर्वी पहाडको मुख्य यातायात मार्ग मेची राजमार्ग पुनः अवरुद्ध भएको छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित खण्डमा पहिरो र सडक भासिँदा आवागमन पूर्ण रूपमा ठप्प भएको हो।

जोखिम बढेपछि शुक्रबार बिहानैदेखि स्थानीय प्रशासनले सवारी सञ्चालनमा रोक लगाएको थियो। राजमार्गलाई दिउँसो साना सवारीका लागि अस्थायी रूपमा खुलाइएको भए पनि राति परेको तीव्र वर्षाले पुनः बाटो बिगारेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो।

उहाँका अनुसार “लोकसेवा आयोगको परीक्षाका कारण विद्यार्थीलाई सुविधा दिनका लागि अस्थायी रूपमा बाटो खोलिएको थियो, तर राति वर्षा भएपछि राजमार्ग चलाउन असुरक्षित बनेको छ।”

जिल्ला प्रहरी प्रमुख एक नारायण कोइरालाका अनुसार सडक भासिँदा र चर्किँदा सवारी चलाउन नसक्ने अवस्था आएको छ। वैकल्पिक सिमल–गोलाइ–जोगमाई मार्ग पनि बाढीले डाइभर्सन बगाएपछि बन्द भएको छ, जसका कारण जिल्लामा आवागमन पूर्ण रूपमा रोकिएको छ।

जोगमाई खोलामा बनाइएको अस्थायी डाइभर्सन बाढीले बगाएको र माईखोलास्थित बेलासे पुल भाँचिएकाले अहिले काठको साँघु प्रयोग गरी मानिसहरू आवतजावत गरिरहेका छन्। ठूला सवारी नचल्दा इलाम, पाँचथर र ताप्लेजुङमा खाद्यान्न, इन्धन र औषधि आपूर्तिमा पुनः संकट देखिएको छ।

राजदुवाली खण्ड विगत केही वर्षदेखि जोखिमपूर्ण क्षेत्रमा परेको सडक मानिन्छ। सडक डिभिजन प्रमुख पवन भट्टराईका अनुसार मर्मतपछि पनि वर्षा सुरु भएसँगै समस्या दोहोरिने क्रम रोकिएको छैन।

जल तथा मौसम विज्ञान विभागका अनुसार चक्रवात ‘मोन्था’ का कारण कोशी प्रदेशका पहाडी जिल्लामा आजसम्म मौसम अस्थिर रहने भएकाले प्रशासनले नागरिकलाई आवश्यक सूचना नआएसम्म सडक प्रयोग नगर्न आग्रह गरेको छ।

गत असोजमा बाढी–पहिरोले ३९ जनाको ज्यान गुमाएपछि इलामलाई संघीय सरकारले ‘विपद् संकटग्रस्त जिल्ला’ घोषणा गरेको थियो। तर स्थानीयले उक्त घोषणा कागजमै सीमित भएको भन्दै असन्तुष्टि जनाएका छन्।

निरन्तर वर्षाले अहिले पुनः राजमार्ग, वैकल्पिक बाटो र कृषि क्षेत्र सबैमा क्षति पुर्‍याएको छ। स्थानीय प्रशासनले क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button