डेढ वर्षदेखि अलपत्र कुश्मा बसपार्क सञ्चालनको तयारीमा
पर्वत । निर्माण सम्पन्न भएको डेढ वर्षपछि जिल्ला सदरमुकाम कुश्मा बजारको बान्द्रेबिडीमा रहेको बसपार्क सञ्चालन गर्ने तयारी भएको छ।

मङ्गलवार कुश्मा नगरपालिकाको कार्यालयमा भएको सर्वपक्षीय छलफलमा यही कात्तिक १४ गते शुक्रवारदेखि नियमित रूपमा बसपार्क सञ्चालन गर्ने निर्णय भएको हो ।
जनप्रतिनिधि, यातायात व्यवसायी र सरोकार भएका निकायका प्रतिनिधिबिचको छलफलले अहिले शिवालय चोक क्षेत्रमा रहेका सबै यातायात कम्पनीका टिकट काउन्टर कात्तिक १४ गते १ः०० बजेभित्र बसपार्कमा रहेको टर्मिनल भवनमा सार्ने निर्णय भएको बसपार्क सञ्चालक दीपक पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार बसपार्कबाट छुट्ने सबै यातायात प्रालिका सवारीसाधनमध्ये ट्याक्सीको हकमा दुई–दुई र अन्यको हकमा एक–एकवटा यात्रु चढाउनका लागि शिवालय चोकमा प्रतीक्षालय राख्न पाइने, लामो दूरीमा आवतजावत गर्ने सवारीसाधनले शिवालय चोकमा यात्रु झार्न र चढाउन पाउने, राजमार्गको छेउछाउ वा बजार क्षेत्रमा अव्यवस्थित पार्किङ गरेर राखेका सवारीसाधन बसपार्कभित्रै राख्नुपर्ने निर्णय पनि छलफलले गरेको छ ।
बसपार्क सञ्चालनका लागि कुश्मा नगरपालिकाले गत साउन २९ गते रु ११ लाख १९ हजार २५२ मा बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्र युवा व्यवसायी पुनको नाममा स्वीकृत भएपछि सञ्चालन प्रक्रिया अघि बढेको हो ।
योसँगै यहाँबाट नियमित रूपमा जिल्लाभित्र र बाहिर जाने सवारीसाधन छुट्ने व्यवस्था मिलाइएको सञ्चालक पुनले बताउनुभयो । यसले यात्रुलाई कुन ठाउँमा सवारीसाधनको प्रतीक्षा गर्ने भन्ने झन्झट हटेर जाने, अव्यवस्थित रूपमा हुँदै आएको पार्किङको समस्या समाधान हुने तथा दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पुनले बसपार्क सञ्चालनका लागि रङ रोगन, विद्युतीकरणलगायत सबै तयारी पूरा भएको जानकारी दिनुभयो । निर्माण सम्पन्न भएर पनि बसपार्क सञ्चालन नहुँदा निर्मित संरचना जीर्ण बन्न सक्ने, अव्यवस्थित पार्किङले सवारी दुर्घटना बढ्दै जाने, यात्रुले सुरक्षित रूपमा सवारीसाधन प्रयोग गर्न नपाउनेलगायत समस्या बढ्दै गएपछि समाधानका लागि सञ्चालनको तयारी थालिएको उहाँको भनाइ छ । यसअघि कुशमाको शिवालय चोक र मध्यपहाडी लोक मार्गमा अव्यवस्थित रूपमा सवारीसाधन पार्किङ गरेर राख्ने गरिएको जनाउँदै पुनले अब उक्त समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
भवनसहित बसपार्कको संरचना अघिल्लो असारमा निर्माण गरेर गत वर्षको कात्तिकमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले कुश्मा नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नगरपालिकाको आन्तरिक तयारीका कारण सञ्चालन गर्न समय लागेको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । उहाँले दुई तले भवनसहित टिकट काउन्टर, यात्रु प्रतीक्षालय, शौचालय र व्यावसायिक प्रयोजनका लागि छटा सटरसहितको कोठा निर्माण गरिएको जानकारी दिनुभयो ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख बलबहादुर गुरुङले बसपार्क सञ्चालनमा आएपछि अव्यवस्थित पार्किङको समस्या अन्त्य हुनुका साथै सवारी दुर्घटना न्यूनीकरण हुने बताउनुभयो । उहाँका अनुसार रु छ करोड ६६ लाख तीन हजार २५० को लागतमा बनेको बसपार्क हाताभित्र दुई ठाउँमा सवारीसाधन पार्किङको व्यवस्था मिलाइएको छ ।
पर्वत सदरमुकाम कुश्मा बजारबाट दैनिक काठमाडौँ, पोखरा, सुनौली, विराटनगर, नेपालगन्ज, भैरहवा, काँकडभिट्टालगायत सहरमा सार्वजनिक सवारीसाधन छुट्ने गर्छन् भने दैनिक हजारौँको सङ्ख्यामा सवारीसाधन बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङका लागि कुश्मा हुँदै जाने गर्दछन् । यसअघि जिल्लामा भित्रिएका र बास बस्नुपर्ने सवारीसाधन असुरक्षित ढङ्गले सडकमा पार्किङ गरिँदै आइएको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्