तपाईँ सुन्दै हुनुहुन्छः

गाउँमा देखिनै छाड्यो तोरीबारी ,आयातित तेलको प्रयोग बढ्दो

बाजुरा । बाजुरा लगायत सुदूरपश्चिमका पहाडी गाउँमा पछिल्लो समय तोरी उत्पादन घट्दो क्रममा छ ।

जिल्लाका अधिकांश स्थानमा फाटफुट बाहेक तोरी खेतीमा गिरावट आएको किसानहरूले बताउनुभएको छ। तर, खप्तड छेडेदह गाउँपालिका–३ स्थित डोगडीमा भने यो वर्ष प्रशस्त तोरी खेती भएको छ ।

डोगडीका स्थानीय एवं डाक्टर भेसराज बुढाथोकीका अनुसार, यस वर्ष समयमै वर्षा भएकाले तोरीको उत्पादन राम्रो भएको छ । किसानहरूले खेतभरि हरियो तोरीका बोट फुलेका देख्दा हर्ष व्यक्त गरेका छन् । अहिले तोरी फल्ने तयारीमा छ, जसको फुलले गाउँका बारी पहेँलो र मनमोहक देखिएका छन् ।

जिल्लाभरि तोरी खेती घट्दै गए पनि डोगडीका किसानहरूले परम्परागत तिरी खेतीलाई निरन्तरता दिँदै आएका छन् । स्थानीय कृषक पवित्रा विकले “तोरीले घरको तेलको आवश्यकता पुरा गर्छ, त्यसैले हामीले खेती गर्न नछाडेको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा पछिल्ला वर्षहरूमा मकै, गहुँ ,कोदो र फलफूलमा किसान आकर्षित भइरहेका भए पनि तोरी खेती उत्पादनको क्षेत्रफल भने घटेको छ । तर डोगडीमा अझै पनि स्थानीय जातका तोरीको उत्पादन राम्रो मात्रामा भइरहेको छ, जसले गाउँको पहिचान नै तोरी उत्पादन क्षेत्रका रूपमा बनाइरहेको छ ।

गाउँ-गाउँमा सहरको आयातित तेल छ्यापछ्याप्ती पाईने भएकै कारण स्थानीय तोरी खेतीतर्फ लाग्न छोडेको सरोकारवालाको बुझाइ रहेको छ। स्वास्थ्यका हिसाबले निकै लाभदायक मानिने तोरीको उत्पादन घट्नुलाई चिन्ताको विषयका रुपमा लिइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button