तपाईँ सुन्दै हुनुहुन्छः

विपद् व्यवस्थापन कोषमा ८ लाख ४० हजार बढी सहयोग

कञ्चनपुर । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि निरन्तर बढिरहेको छ । कोरोना भाइरसको थप संक्रमण बढ्न नदिन तीनै तहका सरकार र मातहतका निकायहरू निरन्तर क्रियाशील रहेका छन् ।

यता कञ्चनपुरका सबै स्थानीय तहहरूले पनि कोरोना रोकथाम तथा नियन्त्रणका क्रियाशीलता बढाएका छन् । प्रायः सबै स्थानीय तहहरूले विपद् व्यवस्थापन कोष समेत स्थापना गरेका छन् ।

यसैबीच कञ्चनपुरको बेलौरी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको विपद् व्यवस्थापन कोषमा हालसम्म ३९ ओटा दातृ संघसंस्था एवं दाताहरूबाट सहयोग प्राप्त भएको छ ।

बैशाख २२ गतेसम्म विपद् व्यवस्थापन कोषमा सहयोग स्वरूप प्राप्त ८ लाख ४० हजार २ सय २६ रुपैयाँ जम्मा भएको बेलौरी नगरपालिकाका प्रवक्ता विनोद नेपालीले जानकारी दिनुभएको छ । उक्त कोष स्थापना गर्दा बेलौरी नगरपालिकाले १ करोड रकम जम्मा गरेको थियो ।

विश्वव्यापी महामारीको समयमा बेलौरी नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गर्ने र मजदुर, गरीब तथा विपन्न परिवारका लागि खाद्यान्न सहयोग गर्ने दाता तथा दातृ संघसंस्थाहरू प्रति नगर प्रमुख पोतिलाल चौधरीले आभार प्रकट गर्नुभएको छ ।

नगर प्रमुख चौधरीले कोरोना रोकथामका लागि नगरपालिकाले अधिकतम् प्रयास जारी राखेको दाबी गर्नुभयो । सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) को पूर्ण रूपमा पालना गर्न समेत उहाँले सबैलाई अपिल समेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button