नेपालगञ्ज नाकामा भारतबाट दशैं मनाउन घर फर्किनेको लर्को

नेपालगञ्ज । नेपालगञ्ज नाकामा भारतबाट दशैं मनाउन घर फर्किनेहरूको लर्को छ ।
कामका सिलसिलामा भारतका विभिन्न शहरमा पुगेका नेपाली बडा दशैं मान्न घर फर्किरहेका छन् । घटस्थापनादेखि नेपालगन्जस्थित जमुनाह नाकाबाट घर फर्किनेको भिडभाड बढेको हो । अटोरिक्सामा दशैं मान्न आउने नेपाली खचाखच भरिएको देखिन्छ ।
दशैं बोकेर फर्किएका नेपालीलाई घर पुग्न हतारो छ । झोला र बोरामा सामान बोकेका उनीहरू उमङ्गका साथ घर फर्किरहेका छन् । मौसमी कामका लागि भारतको कालापहाड, सिमला, प्रयाग, कारगिल लगायतका ठाउँमा पुगेका नेपाली कामको बोझलाई थाँती राखेर हर्षोल्लाससँग चाडबाड मनाउन घर फर्किएका हुन् ।
सल्यानका दिनेश विष्टले अरू बेला जस्तो पीडा र दुख भए पनि दसैँमा घरपरिवारसँगै रमाउन फर्किएको बताउनुभयो । दिनभरीमा पाँच हजार मानिस दशैं मनाउन घर फर्किरहेको नाकामा तैनाथ प्रहरी अधिकारीहरू बताउँछन् ।
दसैँमा घर फर्किने मानिसलाई समस्या र अप्ठेरो नहोस् भनेर नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दशैं मान्न फर्किनेहरू प्रायः दैलेख, सुर्खेत, जाजरकोट, रुकुम, रोल्पा, सल्यान, प्युठानका छन् ।
प्रतिक्रिया राख्नुहोस्