सल्यानमा फोर्स दुर्घटना : मृतकको पहिचान खुल्यो
सल्यान । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–५ बाट दाङतर्फ जाँदै गरेको यात्रुवाहक फोर्स गाडी राप्ती राजमार्गको सल्यान दाङ सडक खण्ड सल्यानको कपुरकोट–३, चोरखोलामा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार मृत्यु हुनेमा बाँफिकोट–५ का ६८ वर्षीया पबी केसी, ३० वर्षीय शशिधर केसी र २७ वर्षीय प्रकाश केसी रहेका छन् ।
लु २ ख ६५०२ नम्बरको गाडी आइतबार बिहान करिब ४ बजे सडकदेखि करिब ४ सय मिटर तल खस्दा दुर्घटना भएको हो। गाडीमा पाँचजना सवार रहेका थिए ।
दुर्घटनामा घाइते भएका बाँफिकोट–५ का ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसीलाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा प्रारम्भिक उपचारपछि गम्भीर अवस्थामा नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।
मृतक र घाइते एउटै वडाका रहेको खुलेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्