तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन 

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रदेशभरि लागु हुने गरी चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । प्रहरीले दसैँ–तिहार तथा छठ पर्वमा बढ्दो सुरक्षा जोखिमलाई ख्याल गर्दै चाडपर्व लक्षित सुरक्षा योजना ल्याएको हो । 

प्रदेशका दश वटै जिल्लामा कमान्ड सेन्टर स्थापना गरी ५ सय ८५ वटा मोबाइल, पेट्रोलिङ, ‘क्विक रेस्पन्सीविलिटी टिम (क्यूआरटी)’ मोटरसाइकललगायत गस्ती परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (प्रहरी वरिष्ठ उपरीक्षक) केदार खनालले जानकारी दिनुभयो । उहाँले कर्णालीका सीमा नाका संवेदनशील क्षेत्रमा कुकुर परिचालन गरी चेकजाँच गर्नेदेखि ड्रोनबाट निगरानी गर्ने योजना कार्य अघि सारिएको बताउनु भयो । 

उहाँका अनुसार पहिलो चरणमा चाडपर्व लक्षित सुरक्षा योजनाका लागि चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीको खोजतलाससँगै विभिन्न प्रहरी इकाईबाट लुटिएका हातहतियार तथा गोलीगठ्ठा बरामद कार्यलाई पनि प्राथमिकतामा राखिएको उहाँको भनाइ छ । 

उहाँका अनुसार प्रहरीले यात्रु सुरक्षाका लागि ४३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्नुका साथै ४ सय १४ संवेदनशील स्थानमा प्रहरी टोली खटाइएको छ । 

ग्रामीण क्षेत्रमा गस्ती, हाइवे गस्ती, पैदल गस्तीलाई निरन्तरता दिँदै प्रदेश भित्रने मुख्य नाकाहरू चेकजाँचलाई कडाइ पारिएको उहाँले जानकारी दिनुभयो । 

बैङ्क तथा वित्तीय संस्थाहरू, धेरै भिडभाड हुने क्षेत्रहरूमा २४ सै घण्टा निगरानी बढाइएको बताउँदै उहाँले चाडपर्वमा जुवातास, पटका लगायत विस्फोटक पदार्थको बिक्री वितरण तथा प्रयोग रोक्ने गरि साधा पोशाकमा प्रहरीहरू परिचालन गरिएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button