तपाईँ सुन्दै हुनुहुन्छः

छ वर्षमा पनि नबनेको सडक गाग्रेभन्ज्याङ : बनाइनसक्दै कालोपत्रे हरायो

इलाम । पश्चिमी इलामको गाग्रेभञ्ज्याङ्ग जीतपुर हुँदै बेलासे जोड्ने सडक समयमा निर्माण नहुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ । निर्माण सम्पन्न गरिएको सडकको करिब चार किलोमिटर खण्ड एक वर्ष नहुँदै खाल्डाखुल्डी भएको छ । ६ वर्ष अगाडि निर्माण सुरु भएको सडक निर्माणको अवस्थाले सर्वसाधारण आजित भएका छन् । 

प्रदेश सरकारको लगानीमा सुरु भएको यो सडक खण्डको गाग्रेभञ्ज्याङ देखि जीतपुरे बजार सम्मको सडक काम नलाग्ने गरी बिग्रिएको छ । ढिलो गरेर निर्माण गरिएको सडक क्षत विक्षत भएपछि स्थानीय पनि आक्रोशित छन् । जीतपुरे  बजारका राम घिसिङले सडक निर्माणमा ठेकेदार र सम्बन्धित निकाय जिम्मेवार नभएको बताउनुभयाे ।

कोसी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर रानाको घर छेउदेखि सुरु भएको यो सडकले प्रदेश सभा सदस्य गोविन्द गिरिको घर पनि जोड्दछ । आफ्नो घर गाउँमा निर्माण भएको सडकको अवस्थाबारे दुवै जना बेखबर रहेका छन् । निर्माण सकिएको नेपालटार मङ्गलवारे सडकको हालतले आजित बनेका पश्चिमी इलामका बासिन्दा यो सडक चाँडो बन्ने भरोसामा थिए । तर बनेको वैकल्पिक सडक पनि यस्तो भएपछि आवत जावतमा ठुलो कठिनाइ भोग्नुपरेको स्थानीय कोपिला थापाले बताउनुभयाे ।

पूर्वाधार विकास कार्यालय भद्रपुर झापाले २०७६ कार्तिकमा यो सडक निर्माणका लागि ठेकेदार प्यासिफिक ई लाइट जेभीसँग सम्झौता गरेको थियो । गाग्रेभञ्ज्याङ्ग जीतपुर बेलासे सडक भनेर ठेक्का सम्झौता भए पनि यो सडक गाग्रेभञ्ज्याङ, जीतपुरे, नवमी, पञ्चमी हुँदै नामथला, सोयाक सम्म निर्माण हुने भएको छ । साढे २२ किलोमिटर सडक कालोपत्रे गर्ने काम हालसम्म गाग्रेभञ्ज्याङ्गदेखि जीतपुर नवमी सम्म निर्माण भएको छ । बाँकी सोयाक देखि बेलासे सडक निर्माणमा पनि प्रदेशले कुनै चासो नदेखाएका कारण यो सडकको यात्रा जोखिम कायमै रहेको छ ।

ठेकेदार प्यासिफिक इलाइट जेभीका प्रतिनिधि रवि लम्सालले प्रतिकुल मौसमले सडक निर्माणमा कठिनाइ भएको बताउनुभयाे। उहाँले गाग्रेभञ्ज्याङ्गदेखि जीतपुरे सम्मको बिग्रिएको सडकमा पनि पुन जोतेर कालोपत्रे गर्ने जानकारी दिनुभयो । जीभीएसटी प्रकारको कालोपत्रे गर्दा सबै निर्माण सामग्रीको गुणस्तर मिल्नुपर्ने प्राविधिकहरू बताउँछन् । यस्तो सडक निर्माण पछि जति गाडी गुड्यो त्यति कालो देखिने उनीहरूले बताए । लम्सालले चार किलोमिटर सडक दोहोराएर कालोपत्रे गरिने र बाँकी सडक खण्ड समेत चालु वर्षमा कालोपत्रे गरिसक्ने जानकारी दिनुभयो । 

पूर्वाधार विकास कार्यालय भद्रपुर झापाका  सी डी इ राजेश्वर महतोले उक्त ठेक्काको चार किलोमिटर सडकको पुन निर्माण नहुँदा सम्म ठेकेदारलाई रकम भुक्तानी रोकिएको बताउनुभयाे । उहाँले ठेकेदारसँग पटक पटक सम्पर्कमा रहेर काम गरेको बताउनुभयाे । तीन वर्ष अगावै निर्माण सक्नुपर्ने सडक ठेक्काको पटक पटक म्याद थप हुँदा  पनि आधा निर्माण हुन सकेको छैन ।   

यता ठेक्का सम्झौता अनुसार निर्माण कार्य सम्पन्न नहुँदै पूर्वाधार विकास कार्यालय भद्रपुर झापाबाट इलाममा जिम्मेवारी हस्तान्तरण भएको छ । प्रदेश सरकारले साबिकको सहरी विकास तथा भवन कार्यालयको नाम परिवर्तन गरी सबै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गरेको हो । 

पूर्वाधार विकास कार्यालय भद्रपुर झापाले भ्याट सहित ३९ करोड ८६ लाखमा गाग्रेभञ्ज्याङ्ग जीतपुर बेलासे सडक निर्माणको सम्झौता गरेको  थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button