अध्यक्ष प्रचण्डद्वारा नेपाल पर्वतारोहण सङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभएको छ।

आज खुमलटारस्थित निजी निवासमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सत्तारूढ नेपाली काँग्रेस, नेकपा एमाले र समाजवादी पार्टीसहितको गठबन्धनलाई पराजित गर्दै विजयी बनेको नेकपा ९माओवादी केन्द्र०समेतको गठबन्धनको अध्यक्ष फुर्वा गेल्जे शेर्पा नेतृत्वको प्यानललाई बधाई दिनुभएको हो।
बधाई दिने क्रममा अध्यक्ष प्रचण्डले पर्वतीय पर्यटन व्यवसायको विकासमा सङ्घले महत्त्वपूर्ण योगदान दिन सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,
“ नेपालमा पर्वतीय पर्यटन व्यवसायको विकास हुनुपर्छ। अहिले निर्वाचित हुनुभएको अध्यक्षलगायत सम्पूर्ण पदाधिकारी र निर्वाचन प्रक्रियामा सहयोग गर्ने सबैलाई म हाम्रो पार्टी र मेरो तर्फबाट हार्दिक बधाई दिन चाहन्छु। एनएमएलाई अझ सशक्त र प्रभावकारी संस्थाका रूपमा अगाडि बढाउन तपाईँहरूको भूमिकामा मेरो पूर्ण समर्थन रहनेछ।”
अध्यक्ष प्रचण्डले आफ्नो व्यक्तिगत अनुभव र एनएमएसँगको लामो सम्बन्ध उल्लेख गर्दै पर्वतारोहण र पर्यटन प्रवर्द्धनका लागि सरकारले पनि सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले हाल अन्तिम चरणमा पुगेको पर्यटन सम्बन्धित विधेयक पारित गराउन आफूले सक्रिय भूमिका खेल्ने प्रतिज्ञा पनि गर्नुभयो।
एनएमएको निर्वाचनमा अध्यक्ष फुर्वा गेल्जे शेर्पा नेतृत्वको प्यानल विजयी भएको थियो। एक उपाध्यक्ष र एक सदस्यबाहेकका सबै पदमा उक्त प्यानलका उम्मेदवार निर्वाचित भएका छन्।
प्रतिक्रिया राख्नुहोस्