विपिन रिहाइको पहलका लागि थप प्रयत्न गर्न आग्रह

काठमाडौँ । प्यालेस्टाइनको हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको पहलका लागि विपिनकी आमा र बहिनीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई धन्यवाद दिँदै आगामी दिनमा थप पहल गर्न आग्रह गर्नुभएको छ ।
विपिनकी आमा र बहिनीले आज परराष्ट्र मन्त्रालयमा भेट गर्दै मन्त्री डा राणा र परराष्ट्र मन्त्रालयले विपिनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गर्दै यसलाई आगामी दिनमा थप सक्रियताका साथ निरन्तरता दिन आग्रह गर्नुभएको हो ।
मन्त्री डा राणाको पहल एवं नेपालस्थित इजरायली राजदूतावासको समन्वय तथा सहयोगमा विपिनकी आमा र बहिनी विपिनको अवस्था बुझ्न तथा उहाँको रिहाइका लागि अपिल गर्न हालै इजरायल जानुभएको थियो । इजरायलबाट फर्केपछि आज उहाँहरूले मन्त्री डा राणालाई भेटेर यसबारेमा जानकारी गराउनुभएको हो ।
दुवै जनाले आफूहरू इजरायलमा रहँदा त्यहाँस्थित नेपाली राजदूत प्रा डा धनप्रसाद पण्डित र इजरायल सरकारका अधिकारीहरुले सहयोग गर्नुभएको तथा त्यहाँ राष्ट्रपतिदेखि उच्च सरकारी अधिकारीहरूसँग भेटेर विपिनको रिहाइका लागि अपिल गर्न पाएको जानकारी दिनुभएको थियो ।
त्यस अवसरमा मन्त्री डा राणाले सरकारले विपिनको रिहाइमा सक्दो कूटनीतिक प्रयत्न गरिरहेको र आगामी दिनमा यसलाई थप सशक्त बनाउने बताउनुभयो । मन्त्री डा राणाले उहाँहरूसँग भन्नुभयो, “यो एक वर्षमा म उपस्थित भएका संयुक्त राष्ट्रसङ्घीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्चहरू, विभिन्न द्विपक्षीय तथा अन्तर्राष्ट्रिय बैठक तथा भेटवार्ताहरूमा विपिनको रिहाइको आग्रह गरिरहेकै छु । हामीले कूटनीतिक माध्यमबाट गर्न सक्ने र मिल्ने जति पत्राचार एवं अन्य आवश्यक पहल जारी राखेका छौँ ।”
आफूले इजरायल, इजिप्ट, इरान, कतार, संयुक्त अरब इमिरेट्स, टर्कीदेखि लिएर अन्य देशका विदेशमन्त्री एवं अधिकारीसँगको भेट एवं फोन वार्ताका साथै संयुक्त राष्ट्रसङ्घदेखि अन्य अन्तर्राष्ट्रिय फोरममा पनि विपिन रिहाइको मुद्दालाई सशक्त रुपमा राख्दै आएको मन्त्री डा राणाले जानकारी दिनुभयो । सन् २०२३ अक्टोबरमा इजरायलबाट विपिन हमास समूहको अपहरणमा परेका थिए ।
प्रतिक्रिया राख्नुहोस्