गुरुङ समुदायले मातृभाषा जोगाउने अभियान सुरु गर्नुपर्छ: मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ समुदायको मातृभाषा लोप हुँदै गएको बताउनुहुँदै यसको संरक्षणको अभियान घरबाटै सुरु गर्नुपर्ने बताउनुभएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानले आज “तमू कए” नामक गुरुङ भाषा पत्रिका सार्वजनिक गर्ने कार्यक्रममा सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले बसाइसराइका कारण जनजाति समुदायमा पनि गुरुङ समुदायको भाषा र संस्कृति लोप हुने खतरा बढ्दै गएको बताउनुभयो । कुनै पनि समुदायको अस्तित्व उसको भाषा र संस्कृतिमा झल्किने हुँदा गुरुङ समुदायले मातृभाषा संरक्षणमा चनाखो हुनै पर्ने स्थिति आएको मन्त्री गुरुङको धारणा थियो । “कुनै पनि भाषाको संरक्षण घरबाटै सुरु हुन्छ”, उहाँले भन्नुभयो,“तमू भाषा संस्कृति जोगाउने अभियान सुरु गरिहाल्नु पर्छ । नत्र भने हाम्रो पुर्खाले आर्जेको कला, संस्कृति र भाषा लोप हुँदै जान्छ ।”
प्रतिष्ठानले तमू भाषाको पत्रिका पहिलो पटक प्रकाशन गरेकोमा मन्त्री गुरुङ सकारात्मक देखिए पनि मुख्य भाषालाई जीवन्त राख्ने आधार परिवार र समुदाय नै हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “प्रतिष्ठानले पत्रिका निकाल्नु इतिहास हो । तर, वास्तविक भाषा संरक्षण घर बाटै सुरु हुनुपर्छ ।”
उहाँका अनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था ल्याउनुको मूल कारण पनि समाजमा समतामूलक समाज र समावेशी चरित्रको अभ्यास गर्नु हो । सङ्घीय शासन प्रणालीमा सबैको स्वामीत्व महसुस गराउने उद्देश्यले आरक्षण, समावेशी नीति ल्याएको भए पनि गुरुङ समुदायले यो अवसरलाई भरपुर प्रयोग गर्न चुकेको गुनासो मन्त्री गुरुङले गर्नुभयो । उहाँले संविधानले दिएका समावेशीका अवसरहरूलाई प्रयोग गरेर राज्यको मूलधारमा पुग्न गुरुङ समुदायले जोड गर्नु पर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा आदिवासी जनजाति उत्थान प्रतिष्ठानका उपाध्यक्ष रेसम गुरुङले प्रतिष्ठानमार्फत जनजातिको भाषा,संस्कृति, कला र जीवनशैलीको दस्तावेजीकरण गर्ने कार्य हुँदै आएको बताउनुभयो । साथै जनजातिलाई निजामती सेवामा पहुँच वृद्धि गर्न निःशुल्क लोकसेवा तालिम समेत सञ्चालन गरेको र त्यसमा गुरुङ समुदाय अत्यन्त न्यून उपस्थिति रहेको यथार्थ पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अरू समुदाय जस्तो गुरुङ समुदाय निजामती सेवामा न्यून उपस्थिति भएको पाइएको । जुन दुखद छ ।”
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले प्रतिष्ठानप्रति सबै समुदायको साझा अनुभूति गराउन मातृभाषाका पत्रिका प्रकाशन गर्न जरुरी रहेको बताउनुभयो । यो अभियानलाई प्रतिष्ठानले ढिलै भए पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतिष्ठानका मातृभाषा विभाग प्रमुख राजन मुकारुङले नेपालमा भएका विभिन्न मातृभाषा मध्ये, जम्मा चार भाषाका मातृभाषा पत्रिका अहिले सम्म प्रकाशन भएको बताउनुभयो । “तमू कए” पत्रिकाका कार्यकारी सम्पादक अनिता गुरुङले गुरुङ भाषा बोल्न सकिने भए पनि लिपिमा उतार्न निकै चुनौती खेप्नु परेको अनुभव सुनाउनुभयो । पत्रिकामा गाउँ घरमा बोलिने, ठेट भाषा र त्यहाँका कला संस्कृति समेटिएको उहाँले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्