नेपालगन्ज बागेश्वरी मन्दिर परिसरमा सामुदायिक सरसफाई
बाँके। बाँकेको नेपालगन्जस्थित प्रसिद्ध धार्मिक स्थल बागेश्वरी मन्दिर परिसरमा सामुदायिक सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमको उद्देश्य वातावरणीय संरक्षणमा सचेतना फैलाउनु र स्थानीय समुदायलाई सरसफाईका लागि प्रोत्साहित गर्नु रहेको छ ।

कार्यक्रम क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को आयोजना, स्ट्यान्डर्ड चार्टर बैंक लिमिटेड नेपालको आर्थिक सहयोग र बास नेपालको समन्वयमा भएको हो । मन्दिरको पार्किंग क्षेत्र, तलाउ क्षेत्र र चौतर्फि सरसफाई गरिएको आयोजकले जानकारी दिएका छन् ।
क्लिन अप नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले भने, “समुदाय सरसफाई एक व्यक्ति वा निकायले मात्र होइन, सबैको संयुक्त प्रयासमार्फत गर्नुपर्छ” र यसै उद्देश्यका लागि कार्यक्रम योजना गरिएको हो ।
स्ट्यान्डर्ड चार्टर बैंक लिमिटेड नेपालगन्ज शाखा प्रबन्धक हर्मेस सोनीले निजी क्षेत्रको सहभागिताले स्थानीय समुदायमा सचेतना फैलिएको उल्लेख गर्दै बैंकले दीगो सरसफाई अभियानमा भविष्यमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

बास नेपालका अध्यक्ष शिव कुमार वर्माले जलवायु परिवर्तन, वातावरण संरक्षण र हरित योजना सम्बन्धी जनचेतना अभिवृद्धि गर्न यस्तो कार्यक्रम महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा ग्रीन नेपालगन्ज क्लिन नेपालगन्जका संयोजक डा. बिनोद कर्ण, बास नेपालका निर्देशक हेमराज भट्ट, हरित अभियन्ता हेमन्तराज काफ्ले, क्लिन अप नेपालका कार्यक्रम संयोजक कैलास बिक्रम शाही, प्रिती प्रधानांगसहित ४५ जना सहभागी थिए । कार्यक्रममा कुल १३७ किलो फोहर संकलन भएको थियो ।
यस परियोजना अन्तरगत क्लिन अप नेपालले बाँकेको नेपालगन्जमा सामुदायिक सरसफाई, वृक्षारोपण र सचेतना कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्