तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा पहिलो पटक छायानाथ अल्ट्रा म्याराथन हुने

 मुगु। मुगुम कार्मारोङ गाउँपालिकामा पहिलो पटक छायानाथ अल्ट्रा म्याराथन हुने भएको छ।

असोज ६ देखि ८ गतेसम्म आयोजना हुने म्याराथन छायानाथधामको प्रचार–प्रसार, धार्मिक पर्यटन प्रवर्द्धन र संस्कृति तथा जैविक विविधताको संरक्षणका उद्देश्यले गर्न लागिएको हो।

सोमबार सिंहदरबारमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको प्रमुख आतिथ्यमा सांसद, जनप्रतिनिधि, दलका प्रतिनिधि र पर्यटन व्यवसायीसहित छलफल गरिएको गाउँपालिका अध्यक्ष छिरिङक्याम्ने लामाले जानकारी दिनुभयो। मन्त्री शाहीले पहिलो पटक सुरु हुन लागेको म्याराथन सफल बनाउन पालिकाको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो।

म्याराथन ४२.२ किमी दुरीको हुनेछ। पुलु बजारबाट सुरु भई तिहारबगर, किम्री, परलोक हुँदै छायानाथधाम पुगेर चितै गाउँ हुँदै पुनः पुलु बजारमै समाप्त हुनेछ। प्रतियोगिता पूरा गर्न करिब पाँच घण्टा लाग्ने अनुमान गरिएको छ।

विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। पहिलो हुने खेलाडीलाई पाँच लाख रुपैयाँ, दोस्रो हुनेलाई दुई लाख ५० हजार र तेस्रो हुनेलाई एक लाख ५० हजार रुपैयाँ नगदसहित मेडल प्रदान गरिनेछ। स्थानीय विजेताका लागि पनि छुट्टै पुरस्कार राखिएको छ।

विदेशी खेलाडीका लागि रजिष्ट्रेशन शुल्क ५० डलर र स्वदेशी खेलाडीका लागि २५ सय रुपैयाँ तोकिएको छ। अनलाइनमार्फत दर्ता हुने व्यवस्था गरिएको छ। गाउँपालिकाले यस वर्षका लागि करिब ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको र प्रतियोगिता सञ्चालनमा करिब ६० लाख खर्च हुने अनुमान गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button