गुरुङ समुदाय राज्यको मूलधारमा आउन जरुरी : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गुरुङ समुदाय राज्यको मूलधारमा आउन जरुरी रहेको बताउनुभएको छ । राज्यको निर्णायक तहमा जनजातिमध्ये गुरुङ समुदाय निकै पछि परेको भन्दै उहाँले यसका लागि शैक्षिक समुदाय आफैँले सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

मुसारा फिल्मस् प्रालि तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा आज यहाँ आयोजित ‘लिपेमा फुल्ने लालीगुराँस फूल’ शीर्षकको वृत्तचित्र प्रदर्शन तथा सम्मान कार्यक्रममा मन्त्री गुरुङले गुरुङ र मगर समुदायले नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान दिए पनि समयसापेक्ष राज्यको नीति निर्माण तहमा पुग्न नसकेको बताउनुभयो ।
उहाँले सरकारले आरक्षण कोटा सुविधा दिँदा समेत निजामती सेवामा अन्य समुदायभन्दा गुरुङ समुदायले यसबाट लाभ लिन चुकिरहेको धारणा राख्नुभयो । मन्त्री गुरुङले लाहुरे संस्कृतिले गर्दा राज्यको मूलधारबाट पलायन भई विदेशी भूमि र संस्कृतिमा रमाउन थालेका गुरुङ समुदायले अब राष्ट्र र पहिचानका पक्षमा युवापुस्तालाई जागृत गराउनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा वृत्तचित्रमार्फत लमजुङको दूधपोखरी तथा दोर्दी गाउँपालिकाको सिमानाअन्तर्गत पर्ने लिपेडाँडा पर्यटन प्रवर्द्धनको लागि उपयुक्त गन्तव्य रहेको देखाइएको थियो । लिपेडाँडा थरीथरी रङका लालीगुराँसका कारण आकर्षणको केन्द्र बन्दै गएको छ ।
प्रतिक्रिया राख्नुहोस्