तपाईँ सुन्दै हुनुहुन्छः

गाईजात्रामा झडप भएको भिडियो सामाजिक सञ्जालमा भाइरल, तीन जना पक्राउ

भक्तपुर । भक्तपुरको गाईजात्राका दिन अर्थात् आइतबार राति भक्तपुर नगरपालिका तौमढी न्यातापोल मन्दिरअगाडि युवाहरू झडप गरेको भिडिओ तीन दिनमा सामाजिक सञ्जालमा भाइरल भए पछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

झडप भएको भिडियो २४ घण्टापछि सामाजिक सञ्जालबाट बाहिरिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

उक्त भिडियो बाहिरिएसँगै यसप्रति ध्यानाकर्षण भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) ढुण्डिराज न्यौपानेले बताउनुभयो ।

झडपको भिडियोबारे प्रहरीको ध्यानाकर्षण भएको बताउँदै उहाँले घटनामा संलग्नहरूको खोजी गरिरहेको र तीन जनालाई नियन्त्रणमा लिएको बताउनुभयो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुर कोन्ज्योसोम गाउँपालिका वडा नं. १ स्थायी वतन भई हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं.६ पाण्डुबजार बस्ने बर्ष २२ को महेश तामाङ, भक्तपुर नगरपालिका वडा नं. ५ भेलुखेल बस्ने वर्ष ३४ को अमन देउला र भक्तपुर नगरपालिका वडा नं. ५ साकोठा बस्ने वर्ष ३४ को राज कपाली रहेका छन् ।

सूचना अधिकारी न्यौपानेले कुटपिटमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको बताउनुभयो ।

तीन दिनसम्म घटनाको सम्बन्धमा कुनै उजुरी नआएको , घाइते समेत फेला नपरेको र प्रहरीले खोजी गरेपछि आज अपराह्न मात्र दुई जना घाइते सम्पर्कमा आएको परिसरका प्रमुख प्रहरी उपरीक्षक (एसपी)माधव बुढाथोकीले बताउनुभयो ।

घटनामा पीडक जस्तै पीडितलाई पनि खोज्न प्रहरीलाई कठिन भएको प्रहरीको भनाई छ ।

झडपका क्रममा घाइते हुनेमा भनपा ५ का २४ वर्षीय सुशन बादिकार र भनपा ३ बंशगोपालका २९ वर्षीय सागर बज्राचार्य रहेको र उनीहरूको घरमै स्वास्थ्यलाभ गरिरहेको सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।

प्रहरीले भक्तपुर नगरपालिका वडा नं. ५ टौमडीमा गाईजात्रा पर्व मनाउने क्रममा झैझगडा भइरहेको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि कुटपिटमा संलग्नको विवरण आज एक प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button