कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकार गुरुङ र श्रेष्ठ सम्मानित
पोखरा । कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार कैलाशबाबु श्रेष्ठ (सुशील) सम्मानित हुनुभएको छ ।

पोखराका व्यवसायी विमलमान गुभाजू तथा उहाँको परिवारद्वारा आमा स्व.नेत्रकुमारी गुभाजू तथा बाबा स्व.वेदमान गुभाजूको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकीले मङ्गलवार पत्रकार गुरुङ र श्रेष्ठलाई अर्पण गरेको हो ।
पुरस्कृत पत्रकारहरूलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पुरस्कार दाता विमलमान गुभाजु, फोनिज गण्डकी अध्यक्ष खिमा कुमारी गुरुङ लगायतले दोसल्ला, सम्मान पत्र र नगद २५ हजार रुपैयाँ सहित सम्मान गर्नुभयो । फोनिज स्थापना दिवसका अवसरमा पत्रकारितामा क्रियाशील रहेर काम गरिरहेका २ जनालाई हरेक यो पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर आचार्यले २६ वर्ष अगाडि स्थापना भएको संस्थाले आदिवासी जनजाति पत्रकारहरूलाई उत्प्रेरणा प्रदान गर्दै आएको बताउनुभयो ।
सम्मानित पत्रकार श्रेष्ठले पहिले र अहिलेको पत्रकारिता पेसामा धेरै परिवर्तन आइसकेको उल्लेख गर्दै कलम र कापीबाट सुरु भएको पत्रकारिता हाल डिजिटल माध्यमसम्म आएको बताउनुभयो । फोटो पत्रकार गुरुङले पुरस्कारले पत्रकारिता क्षेत्रमा निरन्तर लाग्न प्रोत्साहन मिलेको बताउनुभयो ।
गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीले पत्रकारिता क्षेत्रको संवृद्धिका लागि गण्डकी प्रदेशमा प्रेस रजिस्ट्रार कार्यालयको स्थापना भएको बताउँदै फोनिजभित्रको एकताबाट सबैले सिक्नुपर्ने भनाई राख्नुभयो ।
फोनिज गण्डकी प्रदेशका अध्यक्ष खीमा गुरुङको अध्यक्षतामा भएको पुरस्कार अर्पण समारोहमा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष तथा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिना, नेपाल आदिवासी जनजाति महासङ्घ गण्डकी प्रदेश परिषद्का उपाध्यक्ष खीम छन्त्याल, फोनिज गण्डकीका इन्चार्ज तथा छनौट समितिका सदस्य रुद्र श्रीष मगर, उपाध्यक्ष धनबहादुर गुरुङ (सुमन), गण्डकीका महासचिव सुरज थापा मगर लगायतले आदिवासी जनजातिको मुद्दा उठानमा फोनिजमा आबद्ध पत्रकारहरूले ख्याल राख्नुपर्ने बताउनुभयो ।
२०७७ सालबाट स्थापित कञ्चन पत्रकारिता पुरस्कारबाट योभन्दा अगाडि रुद्र हितान मगर, राजेशचन्द्र राजभण्डारी, शान्ति गुरुङ, केबी रानामगर, उदयबहादुर अमात्य, आश गुरुङ, हुमबहादुर गुरुङ, सुन्दरकुमार थकाली, दीपेन्द्र श्रेष्ठ र कमला राना सम्मानित भई सक्नु भएको छ । फोनिज स्थापना दिवसका अवसरमा फोनिज गण्डकी र फोनिज कास्कीले ३ दिवसीय कार्यक्रम गर्यो । यस अन्तर्गत साउन २५ गते मिडियामा आदिवासी जनजाति समावेशिताको सवाल विषयक फोनिज संवाद, २६ गते पत्रकार महिला, पुरुष र भेट्रान्स फुटसलसँगै रस्साकस्सी प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्