रास्वपालाई आवेग र अराजक शैलीबाट मुक्त हुन सांसद शर्माको सुझाव
काठमाडौँ । सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा सबैभन्दा बढी नेपाली भिजिट भिसामा विदेश गएको तथ्याङ्क रहेको बताउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले पछिल्लो समय गृहमन्त्री भएका ५ जनाको एक सय ५० दिनमा भिजिट भिसामा विदेश जानेको तथ्याङ्क प्रस्तुत गर्दै सांसद शर्माले रास्वपा सभापति लामिछानेको पालामा बिदेसिनेको तथ्याङ्क सबैभन्दा बढी रहेको बताउनुभयो ।
उहाँले रास्वपालाई अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुनुपर्ने सुझाव समेत दिनुभयो ।
सांसद गोकुल प्रसाद बास्कोटाले संसद्मा सत्तापक्ष र प्रतिपक्षमा हुँदा फरक फरक शैली प्रस्तुत हुनुले पनि कतिपय काममा अप्ठ्यारा आएको भन्दै सरकार र सरकार बाहिर रहँदा सांसदहरूले धारणा परिवर्तन गर्न नहुने बताउनुभयो ।
उहाँले सांसद वा दल लोकप्रियतावादको पछि लाग्न नुहुने भन्दै संसद् बहिष्कार गर्ने दलहरूलाई यस्तो खालको प्रदर्शन नगर्न र कमजोरी सच्याएर अगाडी बढ्न आग्रह पनि गर्नुभयो ।
सांसद माधव सापकोटाले संविधान संशोधन गर्ने, मुलुकलाई सुशासन र स्थिरता दिने भनेर दुई ठुला दलबिचको गठबन्धनले बनेको सरकारले अहिलेसम्म कुनै पनि दलसँग यी विषयमा छलफल नगरेको टिप्पणी गर्नुभयो । उहाँले संसद्को गरिमालाई माथि उठाउन सबैले आ आफ्नो स्थानबाट योगदान पुर्याउनुपर्ने बताउनुभयो ।
सांसद मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत नलिएर संवैधानिक व्यवस्था उल्लङ्घन गरेको बताउँदै मुलुकलाई संवैधानिक व्यवस्था र कानुनी मूल्य मान्यता तथा स्थापित विधिका माध्यमबाट चलाउनेप्रति सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।
सांसद रञ्जुकुमारी झाले तराइका केही जिल्लाहरू भारतको सिमानासँग जोडिएको र ती जिल्लामा विभिन्न किसिमका तस्करको समस्या हुने गरेको विषय पटक पटक संसद्मा राख्दा पनि यसको नियन्त्रण र कानुनी कारबाहीका लागि गम्भीर नभएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसदहरू अब्दुल खान, रेखा यादव, रामप्रकाश चौधरी, प्रेम सुवाल, प्रभु साह, नारायणप्रसाद आचार्य, गङ्गाप्रसाद यादव लगायतले पछिल्लो केही दिन यताको अविरल वर्षाका कारण विभिन्न स्थानमा सडक संरचना, सिँचाइ तथा खानेपानीका संरचनाहरूमा पुगेको क्षतिको मर्मत, सम्भार तथा पुनर्निर्माण गर्नुपर्ने, आधारभूत तहदेखि माध्यमिक तहसम्मको पाठ्यक्रमलाई व्यवहारिक बनाउन समयमै सबको सकारात्मक पहल जरुरी रहेको लगायतका धारणा राख्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्