कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक: छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
सुर्खेत। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनले साउन २१ गते (आज) राती १२ बजेबाट अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्री परिषद् बैठकले उक्त निर्णय प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतको परमादेश २०८२/०२/०७ बमोजिम जाजरकोट जिल्लाको जुनिचादे गाउँपालिकाको प्रशासनिक केन्द्र सोही गाउँपालिका–४, लुहादहमा तोक्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं प्रवक्ता विनोदकुमार शाहले बताउनु भयो ।
उहाँले प्रदेशका कार्यालयमा सूचनाको हक कार्यान्वयन भए -नभएको विषयमा अनुगमन गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा कर्णाली प्रदेश अनुगमन समिति गठन गरिने निर्णय भएको जानकारी दिनु भयो ।
उहाँका अनुसार मन्त्रीपरिषद् बैठकले प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयको सचिवमा कामकाजमा खटाउने निर्णय गरेको छ । बैठकले पत्रकारिता पुरस्कार वितरण कार्यविधि २०८२ लाई समेत स्वीकृत गर्ने निर्णय बैठकले गरेको उहाँको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्