प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले शिक्षा, कृषि, बाढी पहिरोको क्षति न्यूनीकरण र पूर्व तयारी, अवरुद्ध सडक सञ्चालनलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसदहरूले नेपालमा नै समयानुकूल विश्व समुदायसँग प्रतिस्पर्धा गर्न सक्ने खालको शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसदहरूले सरकारले वितरण गर्दै आएका छात्रवृत्ति लक्षित वर्गका विद्यार्थीले पाउने कुराको सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो ।
सांसदहरूले वर्षा हुने क्रम बढेसँगै देशैभर पहिरोका कारण सडक अवरुद्ध हुने क्रम बढेको भन्दै समयमा नै यस तर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।
उहाँहरूले अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टि भइरहेका कारण नदी किनारका बस्तीमा बाढीको जोखिम बढेको भन्दै सुरक्षाका लागि प्रभावकारी योजना बनाई कार्यान्वयनमा जान आग्रह गर्नुभयो ।
सांसदहरूले सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्ध बाबा सडक खण्डमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भई यात्रुहरू अलपत्र परेको भन्दै सहज यात्राका लागि व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरूले देशका विभिन्न भागमा सर्पदंशको घटना बढेको तथा दाङमा भर्खरै ३३ वर्षीय महिलाको सर्पले डसेर मृत्यु भएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै स्थानीय स्वास्थ्य संस्थाहरूमा सर्पदंशको उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राहतको प्याकेज विना नै सरकारले मधेसलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको प्रति आपत्ति जनाउँदै सांसदहरूले तत्काल प्रभावकारी राहतको योजना ल्याउन माग गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्