लागु औषध नियन्त्रणमा गृहमन्त्री लेखकको सक्रियता
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै नयाँ चार चुनौती औँल्याउनुभयो । लागु औषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण गर्नु पहिलो हो । लागु औषधसँगै सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम जस्ता चुनौती थपिएको निष्कर्षसहित त्यसको नियन्त्रणमा सक्रियता बढाउनुभएका गृहमन्त्री लेखकको पहिलो वर्षको कार्यकालमा लागुऔषधविरुद्ध मुलुकभर नियन्त्रणका लागि महाअभियान सञ्चालन गर्नुभयो ।
काठमाडौँ उपत्यकामा लागुऔषधविरुद्धको प्रहरीमार्फत महाअभियान सञ्चालन भइरहेका छन् । गृहमन्त्री लेखकले लागु औषध नियन्त्रणका लागि मातहतका प्रहरीका साथै आम नागरिक, अभिभावकलगायत सरोकार भएका निकायले महाअभियानमा साथ दिनुपर्नेमा जोड दिनुभयो । मुलुकभर विभिन्न कार्यक्रममार्फत लागु औषधसम्बन्धी सचेतनासँगै कारबाहीलाई पनि द्रुतगतिमा अघि बढाएका मन्त्री लेखकले गति दिए अनुसारको सफलता प्राप्त हुँदै गएको छ ।
मन्त्री लेखकले नेतृत्व सम्हालेयता बितेको एक वर्षमा नेपाल प्रहरीले मात्रै लागु औषध मुद्दामा सात हजार ९४३ जना स्वदेशी तथा विदेश अभियुक्त पक्राउ गरेको छ । जुन पक्राउ सङ्ख्या अघिल्लो आर्थिक वर्षभन्दा एक हजार २०१ बढी हो । अघिल्लो आव २०८०÷८१ मा छ हजार ७४२ जना पक्राउ परेका थिए ।
गत आव २०८१/८२ मा पक्राउ पर्नेमा सात हजार १९७ पुरुष, ४२१ महिला, ३०७ भारतीय नागरिक र १८ अन्य मुलुकका नागरिक रहेका प्रहरीको लागु औषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा लागु औषधका पाँच हजार ११० मुद्दा दर्ता भएका छन् । यो अवधिमा २० किलो ९२८ ग्राम कोकिन, १८५ किलो ५८ ग्राम अफिम, ४८ किलो ४६५ ग्राम खैरो हिरोइन, ८२९ किलोग्राम चरेस र ५१४३९ ग्राम गाँजा बरामद भएको छ ।
त्यसैगरी एक वर्षको अवधिमा एम्पुल २२०,४१०, नाइट्राजेपाम ९३,४२४, कोडिन सिरप (कोरेक्स) ८९४० लगायत ठुलो मात्रामा अन्य लागु औषध प्रहरीले बरामद गरेको छ ।
अघिल्लो आवभन्दा मन्त्री लेखकको कार्यकालको पहिलो वर्षमा कोकिन मात्रै सात किलोग्राम विगतभन्दा बढी बरामद भएको ब्युरोको तथ्याङ्कबाट देखिन्छ । ब्युरोको तथ्याङ्कअनुसार आव २०७९/८० मा लागु औषधसम्बन्धी चार हजार १०० मुद्दा दर्ता भई छ हजार १८६ जना पक्राउ परेका थिए भने आव २०८०/८१ मा चार हजार ४२४ मुद्दा दर्ता भई छ हजार ७४२ जना पक्राउ गरिएको थियो ।
मन्त्री लेखकले लागु औषध नियन्त्रण तथा अवैध ओसारपसारलाई नियन्त्रण उच्च प्राथमिकतामा राखेकाले सफलता हासिल हुँदै गएको छ । सवारी दुर्घटना बढ्नुका साथै आत्महत्या, साइबरक्राइमलगायत आपराधिक घटनाका पछाडि पनि लागु औषध प्रयोग एउटा कारकका रूपमा देखिएको ब्युरोको भनाइ छ ।
खैरो हिरोइन, एम्पुल, नाइट्राजेपाम, टामाडोललगायतका अन्य औषधि मुलुकभित्र प्रयोग बढ्दो छ भने कोकिन, अफिम, चरेस र गाँजा भारत तस्करी हुने गरेको छ । प्रहरीले देशभरका जिल्ला प्रहरी कार्यालयमा अभियुक्तविरुद्ध मुद्दा चलाउँदै आएको छ भने लागु औषध नियन्त्रण ब्युरो र ब्युरो मातहतका दश वडा कार्यालय यसको नियन्त्रणमा सक्रिय छन् ।
ब्युरोको विवरणअनुसार पनि गत आवमा मात्रै एक हजार ६७५ जनालाई मुद्दा चलाइएको छ । अघिल्लो आवमा ब्युरोले एक हजार १९३ जना विरुद्ध मुद्दा चलाएको थियो भने आव २०७९÷८० मा ब्युरोले ९३७ जनाविरुद्ध मुद्दा चलाएको थियो । विवरणअनुसार ब्युरोको सक्रियता बढेकै कारण अभियुक्तहरू पक्राउ पर्ने क्रम बढेको छ ।
त्यसैगरी, सशस्त्र प्रहरी बलले लागु औषध नियन्त्रणका लागि सक्रियता बढाएको छ । बितेको एक वर्षमा सशस्त्र प्रहरी बलले लागु औषध कारोबार तथा ओसारपसारमा संलग्न ४६० जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बलले ‘नशारहित युवा–हाम्रो देशका कर्णधार, सिमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ लागु औषध नियन्त्रणमा जुटेको छ ।
सशस्त्र प्रहरी बलले यो अवधिमा ठुलो मात्रामा लागु औषध समेत सीमानाका क्षेत्रबाट बरामद गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्