तपाईँ सुन्दै हुनुहुन्छः

एमाले केन्द्रीय कमिटी बैठक: विधान संशोधनसहित आठ बुँदे प्रस्ताव पारित

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी एमाले केन्द्रीय कमिटीको नवौँ बैठकले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्तावलाई सुझावसहित सर्वसम्मतिले पारित गरेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा यही साउन ५ र ६ गते बसेको बैठकले मुलुकको समसामयिक राजनीतिक गतिविधि, सरकारको प्रभावकारिता, विधान महाधिवेशनलगायत समसामयिक विषयमा आठ बुँदे प्रस्ताव पारित गरेको छ ।

यसै गरी, बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई उच्च सम्मान व्यक्त गर्ने निर्णय गरेको छ ।  एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विशेष गरी विधान संशोधनसम्बन्धी प्रस्तावमा घनिभूत छलफल भएको केन्द्रीय कमिटीको बैठकमा २६४ जना सदस्यहरूले आ–आफ्नो धारणा राख्नुभएको र बैठकले आठ बुँदे प्रस्ताव पारित गरेको जानकारी दिनुभयो । 

उहाँका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मुलुकको समसामयिक राजनीतिक विकास क्रम, पार्टीलाई अझ सशक्त र लोकप्रिय बनाउने, विधान महाधिवेशनलगायत विषयमा धारणा राख्नुभएको थियो । 

यसै गरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष प्रा डा पुष्प कँडेल र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आ–आफ्नो आयोगको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक कामका बारेमा जानकारी गराउनुभएको थियो ।

केन्द्रीय कमिटीका सदस्यहरूबाट प्राप्त सुझावहरूलाई समावेश गरी विधान संशोधनसम्बन्धी प्रस्ताव पार्टीको प्रदेश र जिल्ला कमिटीहरूमा थप सुझावका लागि पठाइने निर्णय भएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो ।

सो बैठकले एमाले र नेपाली काँग्रेसबिच सम्पन्न सात बुँदे सहमतिको जगमा उभिएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले बलियो राजनीतिक स्थायित्वको आधार तयार गरी सुशासनसहित देश र जनताका पक्षमा काम गरेको ठहर गरेको छ ।  

वर्तमान सत्ता सहकार्यलाई अझ सुदृढ गर्दै सात बुँदे सहमति कार्यान्वयनमा दृढताका साथ लाग्न र  सरकारलाई अझ प्रभावकारी एवं गतिका साथ अगाडि बढाउन बैठकले आह्वान गरेको छ । “महत्त्वपूर्ण नीतिगत सुधारसहित अर्थतन्त्रलाई लयमा फर्काइएको छ । निजी क्षेत्रमा भरोसा जगाउने र बाह्य लगानी अभिवृद्धि गर्ने काम गरिएको छ । अवरुद्ध विकास निर्माणका कामहरूले गति लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा उच्च प्राथमिकताका साथ दैलेखमा सुरु गरिएको पेट्रोलियम पदार्थको उत्खनन निष्कर्षमा पुगेको छ,” एमालेले जारी गरेको प्रस्तावमा उल्लेख छ ।  

एमालेले दैलेखमा ५० वर्षसम्मको नेपालको आवश्यकता पूर्ति गर्न सक्ने मिथेन ग्यास भण्डार रहेको तथ्य सार्वजनिक हुनु निकै उत्साहपूर्ण विषय भएको बताएको छ । बाह्य सम्बन्धमा थप अनुकूलता सिर्जना गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको उपस्थिति, ‘एजेन्डा’ र भूमिकालाई प्रभावकारी बनाउन वर्तमान सरकार सफल भएको बैठकले निष्कर्ष निकालेको छ ।

प्रस्तावमा भ्रष्टाचार र अनियमितताप्रति निः सर्त विरोध एवं सुशासन र विधिको शासनप्रति अविचलित निष्ठा पार्टीको आधारभूत मान्यता रहँदै आएको र यसै मान्यतामा उभिएर भ्रष्टाचार विरुद्धका कानुनहरू निर्माण गर्न, नियमनकारी निकायहरूलाई प्रभावकारी बनाउन र समाजमा सुशासनका पक्षमा जनचेतना अभिवृद्धि गर्न पार्टी निरन्तर क्रियाशील रहँदै आएको बताइएको छ ।

बैठकले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालप्रति श्रद्धासुमन अर्पण गर्दछ र उहाँको आदर्शलाई पछ्याउँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ, एकताबद्ध र निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने सङ्कल्प गरेको छ । 

यसै गरी, जलवायु अनुकूलका कार्यक्रमहरूको विस्तार र चुरे क्षेत्रको संरक्षण एवं पुनर्भरणका विशेष कार्यक्रमहरू तत्काल कार्यान्वयन गर्दै तराई मधेसको दीर्घकालीन समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।

केन्द्रीय कमिटीको बैठकले नेपाली किसानहरूले भोग्नुपरेका समस्याहरूको तदारुकताका साथ समाधान गर्न,  किसानको जीवनस्तर माथि उठाउन र खाद्य सुरक्षा प्रत्याभूत गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

यसै गरी, यही असार २४ गतेको अविरल वर्षा र बाढीले रसुवामा जनधनको ठुलो क्षति पुर्‍याएकाले पीडितहरूलाई राहत र ध्वस्त संरचनाहरूको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउँदै मितेरी पुल यथाशीघ्र निर्माणका लागि मित्रराष्ट्र चीनसँग आवश्यक समन्वय र कूटनीतिक पहलका लागि बैठकले आह्वान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button