तपाईँ सुन्दै हुनुहुन्छः

‘समृद्ध तनहुँ बनाउन सबैबिच हातेमालो आवश्यक छ’

तनहुँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले समृद्ध तनहुँ बनाउने अभियानमा सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । 

तनहुँ उद्योग वाणिज्य सङ्घले आज दमौलीमा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उहाँले दलगत आस्थाभन्दा माथि उठेर तनहुँको विकासमा लाग्नुपर्ने बताउनुभयो । मन्त्री न्यौपानेले विकास निर्माणमा राजनीति नगरी एकताबद्ध भएर हातेमालो गर्न सबैलाई आग्रह गर्नुभयो । 

उहाँले उद्योग व्यवसायमार्फत देश विकासमा लागिरहेका सम्पूर्ण व्यवसायीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो । “समाज परिवर्तनका लागि लागिरहनुभएका उद्योगी व्यवसायीका समस्या समाधानबारे म पनि जानकार छु । निजी क्षेत्र विकासको मुख्य संवाहक भएकाले यहाँहरूका समस्या समाधानमा सरकार प्रतिबद्ध छ र मेरो तर्फबाट आवश्यक सहजीकरण गर्न म सधैँ तयार छु”, मन्त्री न्यौपानेले भन्नुभयो । 

कार्यक्रममा सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रले व्यवसायमा अनेक किसिमका समस्या आउँदा आफूहरू मर्कामा परेको बताउनुभयो । सङ्घका निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष इमकुमार मल्लले व्यावसायिक वातावरण राम्रो बनाए मात्र देशको अर्थतन्त्र सुधार हुने भन्दै यसमा ध्यान दिन आग्रह गर्नुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button