साहित्यकार डा. तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’
नेपालगन्ज । साहित्यकार डा. हरिप्रसाद तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ प्रदान गरिएको छ । तिमिल्सिनालाई स्वर्गीय मल्लको ९०औँ जन्म जयन्तीको अवसरमा आज ५१ हजार १ सय ११ रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको हो ।

नेपालगन्जमा आयोजित एक समारोहबिच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य एवम् महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. तिमिल्सिनालाई दोसल्ला ओढाएर सम्मान पत्रसहित पुरस्कृत गरिएको हो । तिमिल्सिनालाई कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत कुमार रेग्मी, भेरी साहित्य समाजका अध्यक्ष इन्द्र बहादुर बस्नेत लगायतले पुरस्कृत गर्नुभएको थियो । भेरी साहित्य समाजले कार्यक्रम आयोजना गरेको हो ।
वरिष्ठ साहित्यकार, गीतकार तथा सङ्गीतकार स्वर्गीय मल्लको सम्झनामा भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्जले परिवारको सहयोगमा उक्त पुरस्कार स्थापना गरेको हो । वि.सं. १९९३ साउन ११ गते जन्मिनुभएका बहु प्रतिभाका धनी मल्लको २०७२ वैशाख ११ गते निधन भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्