भोजपुर नापीमा पनि सुरु भयो नेलिस सिस्टम
भोजपुर । नापी कार्यालयसँग सम्बन्धित सेवा अव भोजपुरमा पनि घरमै बसेर अनलाइन मार्फत लिन सकिने भएको छ ।

सरकारले घरमै बसेर नापी कार्यालयहरूको काम मेरो कित्ताबाट गर्न सकिने व्यवस्था सुरुसँगै भोजपुरमा पनि यो सेवा सुरु गरिएको नापी कार्यालय भोजपुरका प्रमुख सागरराज गिरीले जानकारी दिनुभयो । नापी कार्यालयहरूबाट प्रदान गरिने सेवा अनलाइनबाटै गर्न सकिने प्रणाली जिल्लामा पनि सुरु भएको हो ।
डिजिटल नेपालको अवधारणालाई मूर्त रूप दिन नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम (नेलिस) र मेरो कित्ता नामको अनलाइन प्रणाली नापी कार्यालयमा पनि सुरु भएपछि सेवाग्राहीहरूलाई पनि सहजता भएको छ । नेलिस नाप नक्सा कार्यबाट सङ्कलित विवरण (डेटा) को प्रयोगबाट जग्गा दर्ता तथा नक्सा अद्यावधिक गर्ने प्रणाली हो भने मेरो कित्ता अनलाइन मार्फत घरमै बसेर नक्सा, फिल्ड बुक र प्लटरजिष्टर प्रिन्ट गर्ने सक्ने प्रणाली हो ।
नेलिस र मेरो कित्ता अनलाइन प्रणाली सुरुवात भएसँगै आफूले पनि सेवा प्रयोग गरेको सेवाग्राही नरेन्द्र चौहानले बताउनुभयो । सेवाग्राही चौहानले भन्नुभयो, “सानो कामका लागि पनि कार्यालय नै जानुपर्ने बाध्यता हटेको छ, नापी मात्र होइन अव हरेक प्रणालीलाई अनलाइन गरिनुपर्छ ।”
नापी कार्यालय नगई घरमै अनलाइनको सहायताले आफ्नो जग्गाको नक्सा, फिल्ड बुक र प्लट रजिस्टर प्रिन्ट गर्न सकिने व्यवस्था मेरो कित्ता प्रणालीबाट गर्न सकिने छ । नापी विभागको वेबसाइटमा गएर मेरो कित्तामा लगइन गरी आफूले चाहे अनुसार जग्गाको विवरण हेरी आफैँले प्रिन्ट गर्न सकिने छ ।
यो प्रणालीको प्रयोगबाट छिटो, छरितो र मितव्ययी सेवा प्रवाह हुनेका साथै जग्गा प्रशासन सेवामा पारदर्शिता तथा सुशासन कायममा समेत योगदान पुग्ने विश्वास आफूहरूले लिएको नापी कार्यालय भोजपुरका प्रमुख गिरीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्