तपाईँ सुन्दै हुनुहुन्छः

‘पूर्व राष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश अस्वीकार्य’

भक्तपुर । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश अस्वीकार्य भएको बताउनुभएको छ ।

आज नेपाल प्रेस सोसाइटीले भक्तपुरमा गरेको साक्षात्कार कार्यक्रममा गौतमले भण्डारीको एमाले पार्टी सदस्यता नवीकरण नहुने बताउनुभयो ।

भण्डारीले देशको पूर्व राष्ट्रपति भएको हेक्का राख्नुपर्ने बताउँदै गौतमले संविधानलाई जोडेर उहाँले भन्नुभएको ‘राजनीति गर्नु मेरो हक हो’ भन्ने कुराले कुनै अर्थ नराख्ने बताउनुभयो ।

राष्ट्रपति भएपछि सांसद पदबाटै राजीनामा दिनुपर्छ र उहाँ पार्टीको केन्द्रीय कमिटीको निर्णयले नै जानुभएकोले केन्द्रीय कमिटीको निर्णयले नै आउन मिल्दैन भनिसके पछि स्वाभाविक रूपमा पार्टी सदस्यता नवीकरण नगरिएको उल्लेख गर्नुभयो ।

एमालेको हालै सम्पन्न केन्द्रीय कमिटी बैठक सर्व सहमतिको वातावरणमा सम्पन्न भएको बताउँदै उहाँले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई बोल्न नदिएको भन्ने आरोप निराधार भएको दाबी गर्नुभयो ।

गौतमले पूर्व राष्ट्रपति भण्डारीले पार्टी सदस्यतालाई लिएर सार्वजनिक रूपमा गरेको जिकिरलाई पार्टीभित्र गम्भीर विषयको रूपमा नलिइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button