देशमा शान्ति सुरक्षाको अवस्था राम्रो रहेको छ : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षाको अवस्था राम्रो रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा मन्त्री लेखकले सरकारको पहिलो जिम्मेवारी नै देशमा शान्ती सुरक्षा कायम गर्नु रहेको र देशमा शान्ती सुरक्षाको अवस्था अनुकूल रहेको बताउनुभयो ।
गृहमन्त्री लेखकले सवारी दुर्घटना, लागुऔषध दुर्व्यसनी र आत्महत्याको विषय सुरक्षा चुनौतीको रूपमा देखा परेको बताउनुभयो ।
उहाँले सवारी दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या औसतमा प्रतिदिन ७ जना रहेको भन्दै सवारी साधन चलाउँदा पूर्व सावधानी नअपनाउने, लाइसेन्सबिना सवारी चलाउने लगायतका कारणले दुर्घटना बढिरहेको र यसको नियन्त्रण एउटा महत्वपूर्ण चुनौती भएको बताउनुभयो ।
नेपाल प्रहरीका प्रमुख दीपक थापाले सवारी दुर्घटना मृत्यु हुनेको सङ्ख्या बढिरहेको बताउँदै सवारी दुर्घटनाबाट मृत्यु हुनेमा सबैभन्दा बढी मधेस प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशका रहेको बताउनुभयो ।
सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाउने, हेलमेट नलगाई सवारी चलाउन, सवारी चलाउँदा पूर्व सचेतना नअपनाउने तथा लागुऔषध प्रयोग गरेर सवारी चलाउने गर्दा दुर्घटना बढेको पनि प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी प्रमुख राजु अर्यालले सशस्त्र प्रहरीले सीमा सुरक्षा, सीमा क्षेत्रमा रहेका मानिसहरूमा जनचेतना अभिवृद्धि सम्बन्ध विस्तार लगायतका काम विशेष रुपमा गरिरहेको बताउनुभयो ।
उहाँले सीमा क्षेत्रमा हाल २ सय ६० वटा बोर्डर आउट पोष्ट (विओपी) स्थापना भएको जानकारी गराउँदै विओपी स्थापना भएपछि सीमा क्षेत्रमा हुने गरेको चोरी डकैती, लुटपाट, लागु औषध दुर्व्यसनीको समस्या घटेको जानकारी गराउनुभयो ।
उहाँले सशस्त्र प्रहरीका लागि रासनदेखि पोसाक भत्तासम्म कम रहेको बताउँदै सरकारले तोकेको मापदण्डअनुसार नै पोसाक भत्ता किन्न पुग्ने बजेट अभाव रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्