तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा नेपाली सेना मार्फत खानेपानी वितरण कार्य सुरु  

वीरगंज । वीरगन्ज तथा पर्सा जिल्लाका विभिन्न ग्रामीण बस्तीहरूमा देखिएको खानेपानी संकटलाई सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालय, पर्साले  आजबाट  नेपाली सेना मार्फत खानेपानी वितरण कार्य सुरु गरेको छ । 

मधेश प्रदेश सरकारबाट उपलब्ध गराइएका ट्याङ्करहरू मार्फत आजदेखि पानी वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार, नेपाली सेनाको श्रीजंग गण, पर्साको सहकार्यमा बिहान ५ बजेदेखि राति १० बजेसम्म खानेपानी वितरण गरिने छ । यसबाट लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीय बासिन्दालाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।

खानेपानीको समस्या भएका व्यक्ति वा टोलवासीहरूले जिल्ला विपद् व्यवस्थापन समितिको टोल फ्री हटलाइन नम्बर ९८५५०१७९९७ मा फोन गरेर जानकारी गराउन सक्नेछन् । यस्तै, थप जानकारी वा कुनै गुनासोका लागि प्रमुख जिल्ला अधिकारीको नम्बर ९८५५०७७७७७ मा समेत सम्पर्क गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा आज जारी सूचनामा पर्साका बासिन्दामा देखिएको खानेपानीको चर्को समस्यालाई तत्काल सम्बोधन गर्ने प्रयास स्वरूप यो कार्य अघि बढाइएको स्पष्ट पारिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button