राष्ट्रिय आकाङ्क्षामा ढिलाइ अत्यावश्यक ऐनको ढिलासुस्तीले हुन्छ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताउनुभएको छ ।
संसदीय मामिला पत्रकार समाज आवद्ध पत्रकारहरूसंगको भेटमा उहाँले संसदमा डेडलकको अवस्था आउन नदिई आवश्यक छलफल, सहमति र सहकार्यले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउने र सांसदप्रति जनताको भरोसा जागृत गराउने बताउनुभयो ।
उहाँले भन्नुभयो–‘यसतर्फ संसदीय गतिविधिमा अहोरात्र खटिनुभएका तपाईँहरूको भूमिका जनप्रतिनिधि, संसदीय संरचना र संसदीय गतिविधिलाई यसैतर्फ प्रेरित गर्ने खालको हुनेछ भन्ने मैले अपेक्षा गरेको छु ।’ उहाँले नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्धति नै उत्तम व्यवस्था भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा संसद् जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने थलो भएको भन्दै संसद् र यसका समितिमार्फत आवश्यक कानुन बनाउने र जनताका जल्दाबल्दा समस्याबारे जनप्रतिनिधिले गर्ने कामको सूचना सम्प्रेषण गर्ने तथा खबरदारीको भूमिकामा रहने पत्रकारहरूको दायित्व गहन भएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्